नयाँ बुलन्द
इलाम : इलाम वजारमा खानेपानी वितरणको जिम्मा लिएको इलाम नगरपालिकाले पहुँचको भरमा खानेपानी वितरण गर्ने गरेको पाइएको छ । इलाम नगरपालिका भित्र नै कतै दिनमा दुइ पटक पानी वितरण हुन्छ भने कतै दुई दिनमा एक पटक मात्र पानी वितरण हुने गरेको पाइएको छ ।
कतै पाँच÷छ दिन सम्म पानी नजाँदा समेत नगरपालिकाका कर्मचारीले वेवास्ता गर्ने गरेका छन् । पटकपटक जानकारी गराउँदा समेत उनीहरुले यसलाई वेवास्ता गरेको पाइएको छ ।
इलाम वजारका केहि क्षेत्रमा दैनिक पानी आउँछ भने केहि क्षेत्रमा दुई दिनमा एक पटक पानी आउने ब्यवस्था नगरपालिकाले गरेको छ । भन्ञ्ज्याङ क्षेत्रमा दिनमा दुइ पटक विहान बेलुका नै पानी आउने गरेको छ ।
पहुँच भएका ब्यक्तिका घरका धारामा दैनिक पानी झर्ने गरेको पाइएको छ । वजार क्षेत्रभित्र दैनिक पानी आए पनि वजार बाहिर दुई दिनमा एक पटक मात्र आउने गरेको छ । त्यहि पनि नियमित रुपमा दुई दिनमा एक पटक आउने गरेकै छैन ।
नगरपालिकाको लेन्डलाईन नम्वरमा सम्पर्क गर्दा कर्मचारी मेघनाथ ढुंगानालाई सम्पर्क गर्न आग्रह गरियो । ढुङ्गानाको मोवाइल नम्वरमा फागनु १३ गते तिल्केनी क्षेत्रमा पानी नआएको गुनाशो गरेपछि उनले तत्काल समस्या समाधान गर्ने चिल्ला कुरा गर्न भ्याए । १४ गते पटकपटक सम्पर्क गर्दा उनको फोन उठ्न सकेन । १५ गते सोहि नम्वरबाट सम्पर्क गर्दा समेत फोन नउठेपछि चियावारी दैनिकको लेण्ड लाईन नम्वरबाट सम्पर्क गर्दा फोन त उठ्यो । फोन सम्पर्कमा उनले कुनै कर्मचारीलाई जानकारी गराई सकेको भन्दै पन्छिने मेलो गरे ।
‘इलाम नगरपालिकाको लेण्डलाइन नम्वरबाट सम्पर्क गर्दा तपाइँलाई भन्नु भन्ने जवाफ आउँछ सर तपार्इँबाट पनि काम नहुने रैछ अव कस्लाई सम्पर्क गर्ने भनेर सोध्दा उनले पुन पानी हेर्ने कर्मचारीलाई खटाउने वताए ।
यसै विषयमा नगरपालिकाका प्रशासकिय अधिकृत रामकुमार शाहलाई जानकारी गराउँदा आधाघण्टा पछि आफैँ फोन गर्ने वताए तर आधा घण्टा वित्दा समेत फोन आएन ।
इलाम नगरपालिकामा जनप्रतिनिधि चुनिए । जनतालाई दैनिक पानी दिने भनेर भोट फकाएका प्रतिनिधिले समेत कुनै चासो नराखेको स्थानियको भनाई छ । कर्मचारी देखी जनप्रतिनिधि सम्मकै उस्तै चाला देखियो । किनकी मेयर महेश वस्नेतलाई समेत पटक पटक सम्पर्क गर्दा फोन उठेन ।
त्यस पश्चात वडा नम्वर आठका वडाध्यक्ष होम वस्नेतलाई सम्पर्क गर्दा उनले लिखित रुपमा जानकारी गराउनु पर्ने वताए । उनले भने –‘यस विषयमा आज मात्र मलाई जानकारी गराउनु भयो भोलीबाट पानी ल्याउने ब्यवस्था गर्छु ।’ पानी आउने समयमा आफ्नो पोइन्टमा आएर जानकारी गराउन समेत उनले आग्रह गरे ।