सुजता सुनुवार
इलाम : इलाममा औलो रोगीका विरामी वर्षेनी घट्दै गइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय इलामको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६३÷०६४ मा ७२ जना औलो रोगीका बिरामी भेटीएका थिए ।
गत आव ०७३÷७४ मा भने दुई जनामा यो रोग देखा परेको थियो । यस तथ्याङ्क अनुसार औलो रोगीका विरामीको संख्या ७० जना कम हो । चालु आव ०७४÷७५ को हालसम्ममा एक जना मात्र औलो रोगका बिरामी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सन् २००५ देखि किटनाशकयुक्त झुल वितरणसँगै प्रभावकारी रुपमा उपचार सेवा प्रदान गरिन थालिएपछि संख्या घट्दै गएको जनस्वास्थ्य कार्यालय इलामको भनाई छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्दै आएको अध्ययनमा इलाम मात्र होइन देशमा नै औलो रोगीका बिरामी घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका भेक्टर कन्ट्रोल अधिकृत विमल बरालले बताए । उनले भने, ‘औलो सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन, लामखुट्टेबाट बच्नको लागि विभिन्न खाले झुलहरूको वितरण गरिरहेकोले कम हुदै गएको हो ।’
झापासँग सिमा जोडिएका जिल्लाका साविक चुलाचुली, महमाई, दानाबारी, बाँझो गाविसलाई जोखिम क्षेत्र मानिन्छ । तसर्थ यी क्षेत्रमा औलो नियन्त्रण कार्यक्रम अन्र्तरगत वर्षमा दुई पटक विषादी औलो स्प्रे गर्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै विद्यालयहरुमा औलो निवारण सम्बन्धि सचेतना शिक्षा कार्यक्रम समेत गरीरहेको बताइएको छ । कार्यालयले जिल्लाको साविक चुलाचुली गाविस वडा नम्बर ८ उच्च जोखिम क्षेत्रमा राखेको छ । ग्लोबल फण्डको सहयोगमा सो वडामा वर्षमा एक हजार पाँच सय झुल वितरण भइरहेको कार्यलयको भनाई छ ।
सो वडाका गर्भवती महिला पहिलो पटक गर्भ जाँच गराउन आउँदा एक/एक थानको दरले जम्मा ५० थान , बाँकी एक घर परिवारमा दुई जना बराबर एक÷एक थानको दरले झुल वितरण भइरहेको छ । औलो रोगबाट गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा पर्ने चिकित्सकको भनाई छ ।
सन् २०२५ सम्ममा औलोमुक्त नेपाल बनाउने सरकारको लक्ष्यलाई पुर्णता दिन इलाममा औलोमुक्त जिल्ला बनाउन विभिन्न किसिमका कार्यक्रमहरु अहिले पनि निरन्तर गरिरहेको अधिकृत बरालले बताउनु भयो । सन् २०२० सम्ममा रोगीको संख्या शुन्यमा पु¥याउने जिल्ला जनस्वास्थ्य कार्यलय इलामको लक्ष्य रहेको बताइएको छ ।