एपीएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट उपाधि

धनगढी : नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पूर्वाञ्चललाई आइतबार ७ विकेटले हराउँदै एपिएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको च्याम्पियन बनेको हो । एपिएफले उपाधिसहित ५ लाख रुपैयाँ र पूर्वाञ्चलले २ लाख रुपैयाँ प्राप्त गर्यो ।

६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपिएफले १६.३ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गरेको थियो । टोलीका लागि ज्योती पाण्डेयले २२ र सरिता मगरले अविजित १५ रन बनाइन् । पूर्वाञ्चलकी शान्ती चौधरी र संगिता राईले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर व्याटिङको निम्तो पाएको पूर्वाञ्चलले २० ओभरमा ५ विकेट गुमाउदै ६० रन मात्रै बनाउन सक्यो । टोलीका लागि काजोल श्रेष्ठले १८ र रोमा थापाले १२ रन बनाइन् । एपिएफकी रेखा रावल, करुणा भण्डारी, रितु कनौजीया, अञ्जली चन्द र सिता रानामगरले समान १ विकेट लिइन् । एपिएफकी ज्योती पाण्डेय प्लेयर अफ द फाइनल चुनिइन् ।

पूर्वाञ्चलकी कप्तान रुविना क्षेत्री प्रतियोगिताको वुमन अफ द सिरिज घोषित भइन् र उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । रुविनानै प्रतियोगिताकी उत्कृष्ट बलर चुनिइन् । प्रतियोगिता भरी १ सय ६ रन बनाउदै पुर्वाञ्चलकै काजोल श्रेष्ठ उत्कृष्ट ब्याट्सवमन चुनिइन् । उदयमान खेलाडी सुदुरपश्चिमकी लक्ष्मी साउद भईन् । उत्कृष्ट र उदयमानले समान ५ हजार प्राप्त गरिन् । सुदूरपश्चिम फेयर प्ले टोली चुनियो ।

प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारी, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार