संरचनाका दृष्टिले राजधानी विराटनगर : सांसद शर्मा

प्रदेश सांसद धिरेन्द्र शर्मा (रमण)

नयाँ बुलन्द

इलाम : इलाम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (२) का सांसद धिरेन्द्र शर्मा (रमण) ले प्रदेश नम्बर १ को राजधानी जनताको चाहना विराटनगर बाहिर हुनुपर्ने भएपनि भौतिक संरचनाका दृष्टिले विराटनगर उपयुक्त रहेको बताएका छन् ।

शुक्रबार इलाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले दुईतिहाई सांसदको मनोविज्ञान विराटगरबाहिर हुनुपर्ने भन्ने भएपनि भौतिक संरचनाका कारण तत्काल अन्यत्र लैजाने अवस्था नभएको बताए ।

अस्थाई राजधानी तोकिएको विराटनगरलाई त्यहीँ कायम राख्ने वा अन्य स्थानमा स्थानान्तरण गर्ने विषयमा छलफलपछि मात्र टुङ्ग्याइने धारणा व्यक्त गर्दै सांसद शर्माले भने, ‘आम जनताको मनोविज्ञान बुझ्दा विराटनगर बाहिर नै राजधानी होस् भन्ने चाहना छ । तर बाहिरको भौतिक पूर्वाधार नै राम्रो छैन ।’ शर्माले प्रदेशसभाले राजधानी विराटनगर भन्दा बाहिर सार्ने निर्णय गरेपनि कार्यान्वयनमा आउन चार÷पाँच वर्ष लाग्ने बताए ।

प्रदेशको राजधानीको माग गर्दै धनकुटा, धरान र इटहरीबासीले आन्दोलन गर्दै आएका छन् । अस्थायी राजधानी विराटनगर कायम गरिएपनि प्रदेशसभाले आफ्नो क्षेत्रमा राजधानी तोक्ने आशामा उनीहरु छन् । स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई छ । नेपालको संविधानमा प्रदेश सभाको दुई तिहाई बहुमतले राजधानी तोक्ने व्यवस्था गरेको छ ।

अर्को प्रसंगमा सांसद शर्माले व्यवस्थापकीय अधिकार स्थानीय तहलाई दिनसके जनताहरु आर्थिक र सामाजिक रुपमा सम्पन्न हुने धारणा राखेका छन् । ‘जनता ठोक्किने ठाउँ नै स्थानीय तह भएकाले यसलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्छ’ उनले भने, ‘जनतालाई सार्वभौम सम्पन्न बनाएपछि अधिकार समेत दिन सक्नुपर्छ र त्यसका लागि प्रदेशले कुनै हस्तक्षेप गर्दैन ।’

सञ्चारकर्मीको जिज्ञासामा सांसद शर्माले मन्त्री बनेर आफुले मन्त्रालय सम्हाल्न सक्ने र त्यसबाट परिणाम समेत दिनसक्ने धारणा राखे । मन्त्री बन्नेमा आफ्नो नाम समेत चर्चामा रहेको स्वीकार गर्दै शर्माले दौडधूप भने नगरेको दावी गरे । ‘मन्त्री हुने सम्भावना ६० प्रतिशत छ । ४० प्रतिशत समयले निर्धारण गर्छ’  उनले भने, ‘मन्त्री भएपनि नभएपिन आफ्नो जिल्ला र क्षेत्रको समृद्धिका लागि काम गर्नेछु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार