काठमाडौं : निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति फागुन २९ गतेलाई तोकेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षमा बसेको निर्वाचन आयोगको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।
आयोगले राष्ट्रपति निर्वाचनको कार्यक्रम समेत तय गरेको छ। २१ गते मतदाता नामावली प्रकाशित हुने विज्ञप्तिमा जनाइएको छ। प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्न पाउनेछन् ।
२३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पुर्याएर २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ । २०७४ फागुन २९ गते मंगलबारका विहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।




















































