काठमाडौं : सरकार बनाउन र ढाल्न सांसद खरिदबिक्रीको सुरुवात २०५२ मा शेरबहादुर देउवाले सुरु गरेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा २० सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुलाई कहिले कांग्रेस त कहिले एमालेले प्रलोभन दिएर सरकार बनाएका थिए । त्यसबेला सांसदहरुलाई बैककसम्म लगिएका समाचार सार्वजनिक भए । त्यो हङ पार्लियामेन्टमा सांसद खरिदबिक्री भए पनि त्यसपछि त्यस्ता कुरा सुनिएका थिएनन् । तर हालै भएको मुख्यमन्त्रीको निर्वाचनमा सांसद खरिदबिक्री भएको खुलासा भएको छ । एमालेको संस्थापन पक्षले पार्टी सचिव भीम आचार्यलाई १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा हराउन सांसद खरिदबिक्री गरेको आरोप छ ।
१ नम्बर प्रदेशको मुख्यमन्त्रीको निर्वाचनमा शेरधन राईलाई जिताउन संस्थापन पक्षले अम्बिरबाबु गुरुङमार्फत् करोडौं रकम खर्च गरेको आरोप लागेको हो । माधव नेपाल पक्षको ३२ मत हुँदाहुँदै पनि मुख्यमन्त्रीका उम्मेदवार भीम आचार्य २ मतले पराजित भए । राईले २६ मत पाएर मुख्यमन्त्री जिते भने आचार्यले २४ मत पाए । १ मत बदर भएको थियो । राजन राईले शेरधनलाई जिताउन जानीजानी मत बदर गराएका थिए ।
शेरधन राई जिताउन माधव नेपाल पक्षका ९ मत खरिदका लागि ओखलढुंगाबाट जितेका प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले रकमको प्रबन्ध गरेको बुझिएको छ । माधव नेपाल पक्षका जीवन घिमिरे, राजकुमार ओझा, उदयपुरकी कला घले, इलामका राम राना र खिनु लङ्वा र खोटाङका राजन राईलाई आर्थिक प्रबन्ध गरी शेरधन राईको पक्षमा मत हाल्न लगाइएको माधव नेपाल पक्षका नेताले खुलासा गरेका छन् ।
झापाका एक र मोरङका १ जना सांसदले पनि राईलाई मत दिएको तर कसले दियो भन्ने एकीन गर्न भीम आचार्यको समूहले गर्न सकेको छैन । जीवन घिमिरेमाथि गुटलाई धोका दिएर ५० लाख नै लिएको आरोप छ । राजन राई, कला घले, खिनु लङ्वा र राजकुमार ओझासहितले ३० देखि ३५ लाख लिएको आरोप आचार्य पक्षले लगाएको छ ।
धनकुटाका विनादेवी राई र निरन राईले पनि शेरधन राईलाई मत दिएका छन् । तर उनीहरु आर्थिक प्रलोभनमा नभएर शक्तिकेन्द्रको दबाबमा परेर दिएको सूचना भीम आचार्यले पाएका छन् । इलामका राम रानालाई मन्त्रीको आश्वासन दिइएको शेरधन निकट स्रोत बताउछ ।
(२०७४ फागुन ७ गतेको साँघु साप्ताहिकबाट)