मौरीपालन व्यवसायबाट व्यवसायिक बन्दै जिर्मलेका कृषक

जिर्मले : घर वरिपरि मौरीका घारैघार । घर अघि सुन्तलाको बगैचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीको घारको हेरचाह गर्ने इलाम रोङ गाउँपालिका ६ जिर्मलेका दलबहादुर मोक्तानको दिनचर्या हो । परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौ रुपैया आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण मोक्तान मात्र हैन त्यहाँका अधिकाँश कृषकहरुले देखाएका छन् ।

विगत डेढ दशकदेखि व्यवसायिक रुपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक मोक्तानले मह उत्पादन गरेर २÷३ लाख रुपैंयाँ आम्दानी गर्दै आउनु भएको छ  ।मोक्तान सहित त्यहाँका अधिकाँश कृषकको घरमा कम्तिमा ४÷५ वटा मौरीका घार रहेका छन् भने सिजनमा एकै घरमा १०÷१२ वटा घार हुने गरेको छ ।

सेरेना जातको मौरी पालेका त्यहाँका कृषकले यो व्यवसायवाट गतिलो कमाई गर्न सफल भएका छन् । शुरुका केहि वर्ष चिसोका कारण ५० प्रतिशत घाटा भएपनि पछिल्ला वर्ष सोचे जतिनै आम्दानी हुँदै आएको मोक्तानको भनाई छ । मौरीपालन ब्यबसायमा लागेका कृषकले वर्षमा दुई पटक मह निकाल्ने गरेका छन् ।

बिगत ४÷५ बर्षदेखि जिर्मलेका कृषकले मौरीपालन ब्यबसायलाई ब्यबसायिक बनाउँदै लगेका छन् । अलैंची र सुन्तलाको समेत ब्यबसायिक खेती गरेर मनग्ये आम्दानी गर्दै आएका जिर्मलेका कृषकहरुका लागि मौरीबाट उत्पादित मह पनि गतिलो आम्दानीको श्रोत बन्दै गएको स्थानीय अगुवा कृषक लक्ष्मिकान्त घिमिरेले बताए ।

मौरी पालन ब्यबसायलाई ब्यबसायिकरण बनाउनका लागि जिल्ला कृषि बिकास र घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालयले प्राबिधिक सहयोगका साथै अनुदानमा मौरी सहित मौरीका घार तथा तालिमहरु प्रदान गर्दै आएको थियो । तर चालु आबबाट भने स्थानीय तहबाटै यस्ता कार्यक्रमहरु सञ्चालन हुनेछ ।

त्यस गाउँमा उत्पादित महको प्रमुख बजार झापाका बिभिन्न बजारहरु नै हो । गाउँमा उत्पादित मह गुणस्तरीय हुने गरेको कृषकहरु बताउँछन् । जिर्मले गाउँका एकसय ६५ जना घरपरिवारले मौरीपालन ब्यबसाय गर्दै आएका छन् । सो गाउँबाट मात्रै बार्षिक २५ सय केजिभन्दा बढि मह उत्पादन हुँदै आएको गर्दै आएका छन् ।

यसरी गाउँका अधिकाँश कृषकहरु ब्यबसायिक मौरीपालन ब्यबसायमा लागेपछि वडा कार्यालयले कृषकहरुलाई ब्यबसायमा सघाउ पुग्ने गरी बिभिन्न किसिमको सहयोग गर्ने जनाएको छ । यस ब्यबसायलाई ब्यबसायिकरण तर्फ उन्मुख गराई वडाबासिको आर्थिक जीवनस्तरमा सुधार ल्याउन वडा कार्यालयले पकेट क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य लिएको वडाध्यक्ष सुबास तामाङले बताए ।

उनले अबको चारबर्ष भित्रमा जिर्मलेबाट मात्र दशहजार केजि मह उत्पादन गर्ने लक्ष्य राखेको बताउनुभयो । यसैक्रममा गाउँका अधिकाँश कृषक मौरीपालन ब्यबसायतर्फ उन्मुख भएपछि यस ब्यबसायलाई ब्यबस्थित र अझ ब्यबसायिक बनाउन कृषक दलबहादुर मोक्तानको अध्यक्षतामा १३ सदस्यिय मौरी पालक कृषक समूह समेत गठन गरीएको छ । गाउँमा लसेरेना जातको माहुरीको मह भीर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने कृषकहरु बताउँछन् ।

अन्य जातको माहुरीको मह गुणस्तरीय नहुने भएकाले मुल्य कम पर्छ । त्यसमा पनि बनजंगलको जडिबुटी खाएका माहुरीको मह भएकाले गुणस्तर बढेको हो । मह राम्रो भएकाले बिक्रीका लागि समस्या नहुने कृषकहरु बताउँछन् ।

जिर्मले मौरी पालनको क्षेत्रमा निकै सम्भावना भएको भएपनि आवश्यक ज्ञानको कमीले परम्परागत ढंगले मौरी पाल्ने गरेको र व्यबसायीक रुपमा यो व्यवसाय अगाडी बढाउन बिभिन्न सहयोग गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

मौरी पालन गर्न धेरै खर्च र झण्झट नहुने भएकाले थोरै लगानीमा धेरै प्रतिफल पाउन सकिने कार्यालय प्रमुख रामसोगारथ शाहले बताए  ।

एवीसीन्युजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार