२०७२ को भूकम्पले अझै छाडेन भगवती माविका विद्यार्थीलाई

सुजता सुनुवार

इलाम : भूकम्प गएको झण्डै ३ वर्ष पूरा हुनै लाग्यो । कतिले महाभूकम्पलाई बिर्सिसके ।

सम्झन त मन छैन, तर कतिलाई अझै महाभूकम्पको झ–झल्को सम्झन बाध्य बनाएको छ । सम्झन मन नभए पनि इलामको भगवती माविका विद्यार्थीलाई महाभूकम्पको झल्को दिने टहराबाट अझै टाढा बनाएको छैन् ।

हरेक दिन विद्यालयमा पठन पाठन गर्न आउँदा विद्यार्थीले आफ्नै भवनमा महाभूकम्प देख्ने गरेका छन् । विद्यालयको भवन यति जिर्ण छ की भवनलाई नियालेर हेर्दा भवनका मालिक बसाइँ सरेर गएको जस्तो देखिन्छ । भवनलाई झट्ट हेर्दा दुई सय जना विद्यार्थी पठनपाठन गर्ने विद्यालय हो भनेर विश्वास गर्न कठिन छ ।

तर विद्यालयको नाम लेखिएको बोर्ड र कोठा भित्रका कालोपाटीले विद्यालय हो भन्ने क्षनक भने दिन्छ । इलामको सन्दकपुर गाउँपालिका–५, जमुनाका दुई सय जना विद्यार्थी यस्तै जिर्ण भवनमा सुन्दर भविष्य बनाउने आशामा अध्ययन गर्दैछन् । २०७१ सालको महाभूकम्पका कारणले क्षतविक्षत भएको भगवती माध्यमिक विद्यालयको भवन जिर्ण भएपछि जोखिम मोलेर नै अध्ययन अध्यापन गराउनु पर्ने बाध्यता भएको हो ।

विद्यालयका सात वटा भवन छन् । जसमध्ये ६ वटा भवन जिर्ण अवस्थामा पुगेका छन् । एउटाको निर्माण कार्य भइरहेको छ । बजेट अभावका कारण यो भवनको निर्माण कार्य पनि अधुरै रहँदा जोखिम मोलेरै भए पनि पठनपाठन गर्नु पर्ने बाध्यता छ ।

दुई सय विद्यार्थी रहेको विद्यालयमा कम्प्युटर कक्षा, लाइब्रेरी कक्षाको भवन अभाव छ । २०६८ असोजमा गएको भूकम्पमा केही क्षति भएको विद्यालय २०७२ वैशाखमा गएको भूकम्पका कारण जिर्ण बनेको हो । सात भवनमध्येका दुई वटा भवनमा पठन–पाठन गर्न नमिल्ने गरी भकिएको विद्यालयका प्रधानाध्यापक जनकराज सापकोटाले बताए ।

‘निर्माण थालिएको भवन सक्न र जिर्ण भवनलाई मर्मत गर्न सके सहज ढंगले पठनपाठन हुने थियो,’ जनकराजले भने, ‘तर, समस्या झन जटिल बन्दै गइरहेको छ । पुरानो दुई तले भवनको पनि काठ मक्किन थालेको छ । तर पनि विद्यालयको प्राथमिक कक्षा र कार्यालय सञ्चालनसहित कम्प्युटर कक्षा त्यही बनाउन हामी बाध्य छौँ ।’ भवन नभए पनि विद्यार्थीले शिक्षाको उज्यालोबाट वञ्चित हुनु नपरोस भनेर शिक्षकको कर्म पूरा गरीरहेका प्रधानाध्यापक सापकोटा बताउँछन्  ।

विद्यालयको जिर्ण भवनमा अस्थायी रुपमा ढुंगा लगाइएकाले झरेर विद्यार्थी र शिक्षकलाई लाग्ने खतरा पनि छ । विद्यालय स्थापना भएको केही समय पछि बनेको पुरानो भवन र नया“ बनेका भवन दुवै जिर्ण अवस्थामा छन् । बजेट अभावमा निर्माणाधिन भवन पूरा हुन सकेको छैन ।

राणा शासनकालमै स्थापना भएको यो विद्यालय गुरुकुल शिक्षा पढाउने भवनजस्तै भएको छ । यो विद्यालय २००५ सालमा स्थापना भएको हो । विद्यालय भवन ऐतिहासिक भएकाले संरक्षण गरेर राख्नु पर्ने सन्दकपुर गाउँपालिकाका प्रमुख उदय राई बताउँछन् । तर विद्यार्थी पढ्ने भवन निर्माणमा भने खासै चासो नभएको जस्तो देखिन्छ  । ‘रेक्टोफिटिङ मार्फत यसको संरक्षण गर्दै विद्यालयको ऐतिहासिकता कायम गर्ने क्रममा छौं,’ राई भन्छन्, ‘यो सँगै गाउँपालिकाका सम्पूर्ण पुराना ऐतिहासिक विद्यालय भवनलाई यस्तै प्रविधिबाट सुरक्षित गरिने गाउँपालिकाको योजना छ ।’

राणा शासन कालमा नै स्थापना भएका कारण विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत ३ कोठे पक्की भवन बनेका छन् । त्यसको माथिल्लो तलामा शान्ति मन्त्रालय मार्फत थप तीन वटा कोठा निर्माण थालिएको छ । तर बजेट अभावले भवन अपुरो छ ।

किस्ताबन्दीमा रकम र बर्सेनी निर्माण सामाग्रीको मूल्य बढ्दा निर्माणाधिन भवन पूरा गर्न नसकेको प्रधानाध्यापक  सापकोटाको भनाई छ । विद्यालयको नयाँ भवनका लागि ९ लाख रुपैयाँ बजेट आएको तर, अझै भवन निर्माण पूरा गर्न  १४ लाख  लाग्ने प्रधानाध्यापक सापकोटा बताउँछन् ।

बजेट अभावले भवन पूरा हुन नसक्दा जोखिमपूर्ण भवनमा पठनपाठन गराउनु पर्ने बाध्यता भएको विद्यालयका प्रअको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार