प्याकेजमा सहमति गर्न ओली–प्रचण्ड राजी

संयोजन समिति बैठक आज

काठमाडौं : एकीकृत पार्टीको नेतृत्व, पदीय व्यवस्थापन, संगठनात्मक संरचना, सरकारको समीकरणलगायत मुख्य विषयमा प्याकेजमै टुंग्याउने नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू सहमत देखिएका छन् । पार्टी एकताले केही दिनभित्रमा पूर्णता पाउने दाबी उनीहरूको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपूर्व नै पार्टी एकता गर्ने गरी दुवै दलले गृहकार्य गरे पनि माधव नेपाललगायत केही नेताले ‘दुई अध्यक्षको व्यवस्थापन’ले मात्रै एकीकरण नहुने अडान लिएपछि निस्कर्षमा पुग्न सकेको थिएन ।

ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार भएको वार्तामा प्याकेजमै सहमति खोज्ने समझदारी भएको थियो । तर, सोही दिन बसेको एकता संयोजन समितिको बैठकमा एमालेका केही नेताले जनताको बहुदलीय जनवाद छोड्न नसकिने जिकिर गरेपछि एकीकरण टुंगो लाग्न सकेको थिएन ।

एकीकरणमा सहमति नजुटे पनि माओवादीको समर्थनमा ओली बिहीबार प्रधानमन्त्रीमा नियुक्त भए । ओलीलाई प्रधानमन्त्री बनाए पनि एकीकरण टुंगोमा नपुगेसम्म सरकारमा सहभागी नहुने अडान लिएको माओवादीका अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीबीच  शनिबार ‘वान टू वान’ वार्ता भयो । बालकोटस्थित ओली निवासमा भएको वार्तामा पार्टी एकता र मन्त्रीपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ । पार्टी एकता र सरकार विस्तार गर्नेबारे प्याकेजमै टुंग्याउन दुई नेता सहमत भएको बताइएको छ ।

ओलीसँगको छलफलपछि प्रचण्डले पार्टी एकताको बारेमा छलफल केन्द्रित रहेको र छलफल सकरात्मक रहेको प्रतिक्रिया दिए । उनले भने, ‘पार्टी एकताका विषयमा छलफल गरियो । केही दिनभित्रै पार्टी एकताको घोषणा गर्ने गरी तयारी भइरहेको छ ।’

प्रधानमन्त्री ओलीसँगको छलफल लगत्तै महोत्तरीको बर्दिवास पुगेका प्रचण्डले एकता प्रक्रियामा ‘ब्रेक थ्रु’ हुने दाबी गरेका थिए । दुईदल निर्णायक मोडमा पुगेको दाबी गर्दै उनले भने, ‘तपाईंहरू एमाले–माओवादी जुन पार्टीमा भए पनि आ–आफ्नो ठाउँबाट एकताका लागि बल पु¥याउनुहोेस्, जनताको दबाबले एकीकरण छिटो टुंगाउन सहयोग पुग्छ ।’ पार्टी एकता संयोजन समितिको बैठकबाट एकताको ब्रेक थ्रु हुने प्रचण्डको दाबी छ ।

पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताकाबारेमा छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ : प्रचण्ड

संयोजन समिति बैठक आज
पार्टी एकतालाई टुंगोमा पुर्याउन केही दिनदेखि निर्णायक छलफलमा जुटेका एमाले र माओवादीकेन्द्रका अध्यक्षले एकताको विषयमा थप छलफल गर्न आइतबार दुवैदलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक तय गरेका छन् ।

आवश्यक परे एकता संयोजन समितिको बैठक बस्नुअघि पुनः दुवै अध्यक्षले ‘वान–वान’ वार्ता गरी पार्टी एकता र सरकारमा सहभागिताका विषयमा विस्तृत छलफल हुने बताइएको छ । गएको बुधबार बसेको संयोजन समितिको बैठकमा लगभग सबै विषयमा सहमति जुटाइसकेको भनिए पनि हस्ताक्षर हुन सकेको थिएन । पार्टीको नेतृत्व, सांगठनिक तथा राजनीतिक÷वैचारिक विषयमा मोटामोटी छलफल अन्तिम चरणमा पुगेको दुवै दलले दाबी गरेका थिए ।

वाम गठबन्धनको सरकार बन्नुअघि नै एकताको प्रारूप तयार गरी सहमतिपत्रमा हस्ताक्षर गरिसक्ने भनिए पनि सो प्रयास असफल भएको थियो । पार्टी एकता प्रक्रियामा रोकिएका विषयमा अन्तिम सहमति खोज्दै एकता प्रक्रियामा ब्रेक थ्रू गर्ने दुवै दलका संयोजन समितिका नेताहरूको दाबी छ ।  एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न मार्गदर्शक सिद्धान्तलगायत विषयमा कुरो मिल्न सकेको छैन । माओवादीले पदीय बाँडफाँड र सरकारमा सहभागिताको विषय प्योकजमै सहमति गर्नुपर्ने अडान लिएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबार तीन सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । आन्तरिक गृहकार्य पूरा नभएको भन्दै माओवादीले आफ्ना मन्त्रीलाई सिफारिस गरेको छैन । त्यसैले मन्त्रीपरिषदलाई पूर्णता दिन पनि सहमतिमै जानुपर्ने प्रधानमन्त्री ओलीलाई थप दबाब बढेको छ ।

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार