सप्तरी : सप्तरी जिल्लामा एक युवकले जबरजस्ती बलात्कार गरी ११ वर्षीया बहिनीको हत्या गरेका छन् । खड्ग नगरपालिका-९ लालपटीका १८ वर्षीय राजदेव मण्डलले आफ्नै काकाकी छोरी पार्वतीको बलात्कारपछि हत्या गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
गत माघ २५ गते उक्त घटना भए पनि आरोपी भाग्न सक्ने आशंकामा प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान अघि बढाएर आरोपी पक्राउ गरिसकेपछि शुक्रबार घटना सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा आरोपी राजदेवलाई सार्वजनिक गरियो। यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिकाकी दुई वर्षीया बालिकालाई स्थानीय १२ वर्षका एक किशोरले बिहीबार बलात्कार गरेको प्रहरीले जनाएको छ। ती किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।