इलाममा बेसार खेती व्यवसायिक बन्दै

सुजता सुनुवार

इलाम : इलाममा व्यवसायिक बेसार खेती गरेर पछिल्लो समय किसानले राम्रो आम्दानी लिन थालेका छन् ।

जिल्लाको सुर्योदय नगरपालिका कन्यामका किसानहरुले विगत पाँच वर्षयता नयाँ जातको बेसार खेती गरेर आय आर्जन गर्दै आएका हुन् ।

व्यवसायिक खेतीमा लागेर एक जनाले मात्र आठ क्विटलसम्म बेसार उत्पादन गर्ने गरेको कृषक कृष्ण ढुङगानाले बताउनुभयो । ढुङगानाका अनुसार , बेसारलाई धुलो बनाएर बजारमा ३५ रुपैया प्रतिकरुवा विक्री गर्ने गरिन्छ । अहिले सुगन्धय जातको बेसारले राम्रो बजार लिइरहेको छ ।

बास्ना आउने, रङ गाढा देखिने र अदुवाको जत्रै पाना फल्ने बेसार जिल्लाको कन्याम सहित साङरुम्बा, सोयाक, चिसापानी र पञ्चकन्यामा व्यवसायिक तरिकाले खेती हुदै आएको छ । यी क्षेत्रलाई बेसार उत्पादनको पकेट क्षेत्रको रुपमा मानिन थालिएको छ ।

बेसारलाई धेरै स्याहार गर्न नपर्ने , बिऊका लागी टाडा किन्न जान नपर्ने र यसको खेतीमा सिंचाई पनि कम लाग्ने भएकाले व्यवसायिक खेती गर्न गाह्रो नभएको कृषक ढुङगाना बताउँछन् । बेसार आफैमा एन्टिबायोटिकको रुपमा प्रयोग हुने भएकाले यसमा रोग त्यति धेरै नलाग्ने प्राविधिकहरुको भनाई छ ।

बेसार मसलादार बालीका रुपमा चिनिन्छ । इलामका किसानले तरकारी र मसलादार बालिबाट वार्षिक दुई अर्व भन्दा बढि रकम भित्राउने गरेका छन् ।

जिल्ला कृष विकास कार्यालय इलामका अनुसार जिल्लामा विभिन्न तरकारी र मसलादार बालिबाट यस वर्ष २ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको छ । जिल्लामा ७१ हजार ८५ हेक्टरमा यस किसिमको बाली लगाइदै आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार