सरीता राई
माङसेबुङ : माउण्ट एभरेस्ट स्पोर्टिङक्लब चतरा सुनसरी इलामको माङसेबुङमा जारी पवित्रहाङमा रनिङ महिला गोल्डकप आठौं संस्करण फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको अन्तिम क्वाटरफाइनलमा न्युस्टार क्लब प्याङ इलामलाई १-० गोलको कठिन जित दर्ता गर्दै माउण्ट एभरेष्टले अन्तिम चारमा आझ्नो स्थान सुरक्षित गरेको हो ।
जितसँगै माउण्ट एभरेष्टले सोमबार हुने दोस्रो तथा अन्तिम सेमीफाइलनमा साविक विजेता माङसेबुङ युथ सोसाइटी माङसेबुङ इलामसँगको भेट निश्चित गरेको छ । जितका लागि माउण्ट एभरेष्टकी शर्मीला राईले खेलको सातौं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । वेष्ट प्लेयर अफ द म्याच समेत बनेकी शर्मिलाले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
प्रतियोगिता अन्तरगत आइतबारदेखि सेमीफाइलन चरणका खेल सुरु हुनेछ । पहिलो सेमीफाइलनमा आइतबार लेटाङ फूटबल क्लब लेटाङ र ताप्लेजुङ फूटबल संघ ताप्लेजुङबीच हुने आयोजक किरात साम्यो हक्चात यक्चुम माङसेबुङ इलामका अध्यक्ष मनकुमार आङबुहाङले नयाँ बुलन्दलाई जानकारी दिए ।
किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको ६२ औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकपमा इलाम, झापा, मोरङ, सुनसरी र ताप्लेजुङका गरी ८ महिला टीमको सहभागिता रहेको छ ।
प्रतियोगितको फाइनल आगामी २ फागुनमा हुनेछ । विजेताले नगद ६२ हजार एक सय ६२ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार एक सय ६२ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६२ रुपैयाँ प्राप्त गर्नेछन् ।