नयाँ बुलन्द
पाँचथर : लिम्बू जाति अन्तर्गत खुदाङ थरको समुदायले आफ्नो वंशावली प्रकाशन गरी माघ १५ गते विमोचन गरेको छ । खुदाङहरुको थाकथलो रहेको पान्थर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. ५, भालुखोप सुभाङमा आयोजित खुदाङ वंशहरुको तेस्रो सम्मेलनको उद्घाटन सत्रमा वंशावली पुस्तक सार्वजनिक गरिएको हो ।
हाल १३ पुस्ता रहेको खुदाङहरु पान्थरको सुभाङ र ताप्लेजुङको बुरुमखिम थाकथलोबाट छरिएर हाल नेपालको विभिन्न ठाउँहरु र भारतको जलपाइगुडि, आलिकपुर, खार्साङ, दार्जिलिङ, सिक्किम, आसाम, मनिपुर आदि क्षेत्रहरुमा छरिएर बसोबास गर्दै आएका छन् । खुदाङ वंशले मङ्गेना यक भने च्याङथापु मान्दै आएको छन् ।
माघ १५,१६ र १७ गते तीन दिन सुभाङ पान्थरमा सम्पन्न भएको खुदाङहरुको तेस्रो सम्मलेनमा खुदाङ वंशले सामुहिक रुपमा भेला भएर लिम्बू समुदायले मान्दै आएको अनुष्ठान, तीन राते तङसिङ र साक्मुरा वादेम्मा(गालिसराप) पूजा सम्पन्न गरेको थियो । सम्मेलनको बन्दसत्रले भने अब खुदाङहरुको हरेक संस्थागत गतिविधि र विकासको निमित खाम्जिरी खाम्बोङबासा खुदाङ वंश केन्द्रीय कार्य समिति मार्फत अगाडि बढ्ने निर्णय गरेको संस्थाका सचिव सुवास खुदाङले जानकारी दिए । सम्मेलनमा देशभर र देश बाहिर गरी करिब ३ सय सङ्ख्याको उपस्थिति रहेको थियो ।






















































