काठमाडौं : माघ २४ गते तय भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ बाट ८ जना उम्मेवार निर्विरोध भएका छन् । संघीय समाजवादी पार्टीकाका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि उनीहरु निर्विरोध चयन भएका हुन् ।
यसअघि माघ १० गते ८ पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएकोमा ४ जना यसअघि नै विजयी भइसकेका थिए । खुल्लामा मात्रै प्रतिस्पर्धा रहेकोमा संघीय समाजवादी पार्टीका उम्मेदवार मोहम्मद अख्तर हुसैनले आइतबार उम्मेदवारी फिर्ता लिएपछि सबैजना निर्विरोध भएका हुन् ।
खुल्लामा राजपाबाट रमेश प्रसाद यादव, नेपाली कांग्रेसबाट जितेन्द्र नारायण देव, नेकपा एमालेबाट सुमनराज प्याकुरेलले र संघीय समाजवादी पार्टीबाट मोहम्मद अख्तर हुसैनले उम्मेदवारी दिएका थिए ।
राजपाबाट अल्पसंख्यक कोटामा वृषेशचन्द्र लाल, नेपाली कांग्रेसकी मुक्ता यादव महिलाकोटामा, महिला कोटाबाटै माओवादी केन्द्रकी शशिकला दाहाल र संघीय समाजवादी फोरम नेपालबाट दलित कोटामा रामप्रित पासवान यसअघि निर्विरोध भइसकेका छन् । औपचारिक घोषणा माघ २४ गते हुुनेछ।