सुजता सुनुवार
इलाम : गएको मंसिर २१ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा इलामबाट उम्मेद्वारी दिएकामध्ये ४३ जना उम्मेद्वारले अझै खर्च विवरण बुझाएका छैनन् ।
निर्वाचन आयोगले चुनावको मत परिणाम सार्वजनिक भएको मितिदेखि ३५ दिनभित्र उम्मेद्वारले खर्च विवरण बुझाउनु पर्ने व्यवस्था गरेको भएपनि राजनितिक दलका ४३ जना उम्मेद्वारले भने अझै वेवास्ता गरेका छन् । उम्मेद्वार बनेका ५१ जना मध्ये आठ जनाले मात्र हालसम्म खर्चको विवरण बुझाएका छन् ।
जिल्लाका प्रतिनिधिसभातर्फ १४ जना र प्रदेशसभातर्फका २९ जना उम्मेद्वारले अझै पनि चुनावको खर्च विवरण नबुझाएको निर्वाचन कार्यलय इलामले जानकारी दिएको छ । कार्यालयका अनुसार अहिलेसम्म प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ४ जना उम्मेद्वारले मात्रै खर्च विवरण बुझाएका छन् ।
स्थानीय तहको निर्वाचनमा भने एक हजार २३ जनाले खर्च विवरण बुझाएका थिए । यीमध्ये ५६९ जनाले भने खर्च विवरण बुझाएका थिएनन् । स्थानिय तहमा एक हजार ५९२ उम्मेदवारले निर्वाचनमा सहभागीता जनाएको थियो ।