स्वर्गीय सम्बाहाम्फेको सालिक निर्माण

युद्धबहादुर बोहोरा

इलाम : समाजसेवी स्वर्गीय मानध्वज सम्बाहाम्फेको घुर्बिसे पन्चमीमा सालिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १, पछेवा निवासी सम्बाहाम्फे बंशद्वारा निर्माण भएको सालिक अनावरण सहित सम्बाहाम्फे चोकको उद्घाटन भएको छ ।

डिल्ली सम्बाहाम्फेको अध्यक्षतामा निवर्तमान राजपरिषद स्थाई समिति सदस्य तथा सम्बाहाम्फे बंश उत्थान संघका केन्द्रिय सल्लाहकार सदस्य बमबहादुर सम्बाहाम्फेको प्रमुख आतिथ्यमा सालिकको उद्घाटन गरिएको हो ।

मन्तव्यमा प्रमुख अतिथि ८७ वर्षिय सम्बाहाम्फेले सालिक निर्माण भएकोमा आफ्ना बंशहरुलाई धन्यवाद तथा शुभकामना दिए ।

कार्यक्रममा विशेष अतिथि पाँचथर फाल्गुनन्द र इलाम फाकफोकथुमका अध्यक्ष द्वय अम्बरकुमार नेम्बाङ र रामकुमार श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

छोराहरु गोविन्द, कृष्ण र नरविर सम्बाहाम्फेको मुख्य लगानी र  सम्बाहाम्फे बन्धुहरुको आर्थिक सहयोगमा करिब ३ लाख सत्तरी हजार रुपैयाँ बराबरको प्रतीक्षालय समेत निर्माण गरिएको निर्माण समितिका सचिव टीका सम्बाहाम्फेले जानकारी दिए ।

स्व. बलबहादुर सम्बाहम्फेका एक मात्रै छोरा मानध्वजको वि.स.१९८६  चैत १६ गते जन्म भइ २०५६ मंसिर २३ गते देहावसान भएका थिए।उनी पन्चायत कालमा पटक पटक वडा अध्यक्षको पदमा रहि समाजसेवामा निरन्तर कार्य गरेका थिए ।

इलाम र पाँचथरको संगम स्थलमा रहेको घुर्बिसे पन्चमी बजार बिस्तारमा उनको अतुलनीय योगदान रहेको थियो ।

उनको बजार क्षेत्रमा रहेको करिब ६४ रोपनी जग्गा मध्ये धेरै घडेरीहरु अरुलाई बिना मूल्य र न्यूनतम रकममा दिइ बजार विस्तारमा ठुलो भुमिका निर्वाह गरेकोले उनको सम्झनामा सालिक निर्माण गरिएको बजार समिति पुर्व अध्यक्ष तथा माइला छोरा कृष्ण सम्बाहाम्फेले बताए ।

जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी व्यापारी लगायत समग्र सम्बाहाम्फे परिवारको उपस्थितमा ढोल झाँकी सहितको कार्यक्रम रहेको थियो ।

उक्त कार्यक्रमको रेडियो रवि १०७.७ मेगाहर्ज द्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार