मीरा राजभण्डारी अमात्य
भर्खरै एक प्रतिष्ठित एवं चर्चित पत्रकारले सामाजिक सञ्जाल फेसबुकमा एक मधेसी मूलका यात्रीलाई पहाडी मूलका ट्याम्पो ड्राइभरले दुव्र्यवहार गरेको घटनालाई सम्प्रेषण गरे । सामाजिक सञ्जालमार्फत पहाडले मधेसलाई हेर्ने नकारात्मक दृष्टिकोण र सो घटना भइरहँदा कुनै यात्रीले विरोध नगरेकोले आफू अत्यन्त दुःखी भएको भावनासहित ट्याम्पोको नम्बरसमेत देखिने फोटो पोस्ट गरे । सामाजिक सञ्जालमा प्रेषित सो स्टाटसले निकै चर्चा पायो । अरूका फेसबुक केलाउने बानी मेरो छैन ।
तर, त्यो दिन आफूले राम्रोसँग चिनेका पत्रकारको सामुदायिक जाति विशेषलाई इंगित गरेर गरिएको पोस्टमाथि भने मेरो नजर केन्द्रित भयो। कमेन्ट हेरेँ, कोहीले तपार्इं त पत्रकार, तत्काल कारबाही किन गर्नु भएन ? पहाडियामाथि विष वमन गरेका थुप्रै कमेन्ट हेरेँ, दिमाग घुमाउलाजस्तो भो । अचानक मैले ०६७ सालमा आफू जनकपुरमा स्वर्गीय पत्रकार उमा सिंहलगायत मधेसी पत्रकारहरूका कथा–व्यथालाई आफ्नो स्नातकोत्तरको थेसिसका लागि अध्ययन गरेर काठमाडाैँ फर्किने क्रममा ममाथि गरिएको दुव्र्यवहारको घटनालाई सम्झे ।
पत्रकार हुनुको हैसियतले त्यसमाथि नेतृत्व तहमा पुग्न सफल मजस्ता पत्रकारले सामाजिक सद्भाव खलबलिने यस्ता अभिव्यक्तिलाई चिरफार गर्न जरुरी सम्झे । नेपालमा शान्तिसम्झौतापछि नेपालको पत्रकारितामा प्रेस स्वतन्त्रताको अवस्था कस्तो रह्यो भन्ने विषयमा स्नातकोत्तरमा सोधपत्रकै एक पाटो मधेसको पत्रकारिताको अवस्था अध्ययन गर्न म जनकपुर पुगेँ । एक साताको बसाइमा म मधेसमा छु या पहाडमा छु भन्ने एक अंश पनि महसुस गरिनँ । जनकपुरका सबै पत्रकारको निकै सहयोग मिल्यो । बसेको होटल, ठेलावाला, एफएम स्टेसन वा प्रहरी प्रशासन कतैबाट पनि आफूलाई पहाडिया भएको महसुस भएन, न त सूचना दिन कन्जुस्याइँ गरे ।
बरु काठमाडौंदेखि मधेसी पत्रकारका कथा बटुल्न आएकोमा अत्यन्त हर्षका साथ स्वागतसहित तात्कालीन जनकपुरमा रहेका नौ एफएममध्ये सात एफएमसम्म पुग्न सहायता मात्र गरेनन्, बरु जलेश्वर जेलसम्म पुगेर स्वर्गीय उमा सिंहका भाउजूसँग अन्तर्वार्ता लिन तथा जनकपुरका गाउँगाउँसम्म पत्रकारलाई भेट्न सहजीकरणसम्म गरे । तर, काठमाडौं फर्किने दिन भने अलि नमीठो अनुभव भयो । बिहान ६ बजे गुड्ने गाडी थियो । सवा पाँच बजे नै बस स्टप पुगेँ र आफ्नो सिटमा बसेँ, सिट झ्यालमा थियो । जनकपुर छिर्नेबित्तिकै काडमाडांैका लागि टिकट काटेको थिएँ ।
लामो यात्रामा कठिनाइ हुने कारणले झ्यालको सिट छानेको थिएँ । करिब साढे पाँच बजे एक महिला आमासहित आइन् । मेरो सिटमा पुग्नेबितिकै बडो रवाफका साथ ‘खोइ हट, म झ्यालमा बस्छु’ भनिन् । मैले ‘होइन, यो त मेरो सिट हो भनेँ ।’ उनलाई चित्त बुझेन । ‘खोइ टिकट देखाऊ’ भनिन् । खल्तीबाट टिकट निकालेर दिएँ । त्यतिले पनि उनलाई चित्त बुझेन, खल्तीबाट मोबाइल निकालेर टर्च अन गरिन् र मेरो टिकट नम्बर र सिट नम्बर चेक गरिन् । अन्तमा टिकट फिर्ता गर्दै ‘खोइ म बस्छु झ्यालमा यता सर’ भन्दै धकेल्न थालिन् । म उसका सुरुदेखिका गतिविधि नियालिरहेको थिएँ । धकेलेर बोल्न थालेपछि मेरो पनि कन्सिरी तात्यो ।
राम्रो मुखले बोलेकी भए म उनलाई छोडी पनि दिन्थेँ त्यो झ्यालको सिट । अब म कुनै हालतमा सिट नछोड्ने अडानमा, उनी मलाई निकालिछाड्ने ढिपीमा । साथमा उनकी आमा मैथिली भाषामा मलाई पहाडी शब्द प्रयोग गर्दै गालीगलौजमा उत्रिन् । हामीबीचको भनाभनले गाडी छुट्न ढिलो भइरहेको थियो । अन्तमा कन्डक्टर आए र मैले पाँच दिनअगाडि नै टिकट लिएको जाकारी गराउँदै उनलाई अन्ततिरको झ्यालको सिटमा सार्नतिर लागे । तर, अन्यतिरको सिटमा पुरुष थिए । ‘केटा मान्छे छ, म जान्न’ उनको अडान । धेरैबेरदेखि मसँग कचकच गरिरहेको देखिरहेका केही मधेसी भाइहरू गलल हाँसे, ‘यता आउनुस् दिदी, हामीसँग नडराउनुस्’ आफ्ना सिट छोड्न उनीहरू तयार ।
तर, उनकी आमा केटाहरूसँग नबस्, यतै बस् भन्दै बसबाट उत्रिन्, मलाई जलेको आँखाले हेर्दै । अन्तमा उनी मसँगै बसिन् । जनकपुरदेखि भरतपुरसम्मको यात्रामा उनी मसँग एक शब्द नबोली गन्तव्य पुगिन् । बाटामा चिया खान, शौचालय जान जंगलतिर जानुपर्दा भने उनी मेरो पछिपछि लाग्थिन् । बिचरी भरतपुरको कुनै कलेज पढ्ने उनी बसबाट उत्रँदासमेत मेरो मुखै नहेरी उत्रिन् । मैले मनमनै सोचेँ, पुरुषसँग लड्ने आत्मविश्वास छैन, तर झगडा गर्न महिलासँग सय कदमअगाडि । हरेक महिलाको संस्कार । सात वर्षको यो अन्तरालमा मैले त्यो घटनालाई पहाड र मधेससँग कहिल्यै जोडिन र जोड्दिन पनि ।
न त्यस विषयमा कहिले चर्चा नै गरेँ । किनकि, त्यो व्यवहार नितान्त मै हुँ भन्ने सामन्ती संस्कारमा हुर्केकी एक घमण्डी महिलाको थियो, न कि समग्र मधेसी समुदायको । मेरो विश्लेषण र निष्कर्ष । यदि त्यो निम्सरो व्यवहारलाई पहाड र मधेसबीचको सम्बन्धसँग जोडेको भए जनकपुरमा अहोरात्र खटेर मलाई मद्दत गर्ने अजय अनुरागी, मनिका झा, सञ्जीव मण्डललगायत पत्रकार तथा होटलमा उत्कृष्ट सेवा दिने व्यवसायीको मन दुख्दैनथियो होला र ? अथवा चिया, नास्तासहित हृदयदेखि स्वागत गरेका एफएम स्टेसनमा कार्यरत कर्मचारी तथा स्टेसन म्यानेजरहरूको मन कति कुडिन्थ्यो होला ?
नेपालमा ३० वर्षे एकल पञ्चायती व्यवस्थाको अन्त्य र गणतन्त्र स्थापनापश्चात् समग्र विकासका लागि राज्यका निकायमा हरेक नेपाली वर्ग, समुदाय र जातिविशेषको पहुँचसँगै एकात्मक भावना र आफ्नोपन बढाउन संविधान र कानुनले आवश्यक नीति बनाउन संविधानको मौलिक हक र राज्यको नीति निर्देशक सिद्धान्तका आधारमा कानुन बनाउन वैधानिक मार्ग खुला गरेको छ । अहिले राज्यले हरेक समुदायका लागि आरक्षण दिएर विगतमा सीमित रहन बाध्य वर्गलाई अनिवार्य उपस्थितिको सुनिश्चतता दिलाएको छ ।
भाषा संस्कृति इतिहासहरू खोतल्ने र तिनको विकास गर्ने मौका संविधानले दिलाएको छ । तर, विगतका अभ्यासहरूलाई भुल्न नचाहने र अरूका अस्तित्वलाई स्विकार्न नचाहने केही जमातका लागि मात्र टाउकोदुःखाइ बनेको विषयलाई लिएर कोकोहोलो मच्चाउनेका जमातले अहिले नेपालमा सामाजिक सद्भाव खलबल्याउन मलजल गरिरहेका छन् । लिन पाउने र दिन पाउनेहरूका भन्दा लिन नपाउने र दिन नसक्ने जमातले यी–यस्ता विषयवस्तुलाई बढाइचढाइ बहसमा उतार्न खोजेको दखिन्छ । केही दिनअगाडिको घटना ।
छाप्रोमा बस्ने ब्राह्मण समुदायका पत्रकार पत्नी र जनजाति पत्रकार पतिको भनाभन, ‘नेपाल खत्तम पार्ने बाहुन हुन्’ पहुँचमा नपुग्ने र खानसम्मका लागि धौ–धौ भोगेकी पत्नीको झोक ‘भो, तिम्रा कुरा, ठुल्ठूला व्यपारीहरू तिम्रै जातमा छन्, लाहुरे बनेर डलर भित्र्याउने कुन जातको ? हाम्रा बाहुनका खोइ ?, जजमानले दान गरे खान पाउने, हेर्न जाऊ त पशुपतिमा यस्ता जाडोमा गौदान गराउँदै बसेको, तिम्रा जातले गर्नुपरे…’ अचेल यस्ता गलफत्ती हरेक घरमा सुन्न पाइन्छ । ती दुई पतिपत्नी जातले बाहुन जनजाति मात्र हुन्, राज्यका नीतिगत तहमा पहुँच र आर्थिक हैसियतका हिसाबले कर्णाली क्षेत्रका बाहुन र काठमाडौंका असन इन्द्रचोकमा दुईपैसै एकनाले घरमा पाँच परिवार कोच्चिएर बस्न बाध्य नेवारको भन्दा कम छैन ।
तसर्थ कसले कोमाथि दमन गरे, को कसका कारण पछाडि परे वा पारिए, यस्ता वाहियात बहस पद, प्रतिष्ठा र आर्थिकस्तरले उच्चकोटीका समुदायमा भन्दा कहिले नीतिगत तहमा नपुगेका र पुग्न सम्भावना कम भएका र आर्थिकस्तरले निकै पछाडि रहेका बीच हुने गर्छ । बदला लिने र दिने काम पनि उही जमातमा हुन्छ, अन्यलाई हाइसञ्चो । पत्रकार महासंघ भक्तपुर शाखाले केही वर्ष पहिले आधारभूत पत्रकारिता तालिमका लागि कक्षा दिन गरेको निम्तोमा म पनि सहभागी थिएँ । जेन्डर मेरो विषय नभए पनि पत्रकारितामा महिलाका मुद्दामा मेरो विषयकेन्द्रित थियो । महिलाका मुद्दामा लेखिरहँदा पुरुषको भावना महिलाको जस्तो संवेदनशीलता हुन्छ वा हुन्न भन्ने मुद्दामा म सहभागी साथीहरूसँग प्रश्न राख्दै थिएँ । सहभागीहरू आआफ्ना हिसाबले जवाफ दिँदै थिए ।
एक पुरुष पत्रकार महोदयको पालो आयो । महिला पछिपर्नुमा महिलाहरू आफू आफू नै मिल्दैनन्, घरमा सासु…। उनको जवाफ पूरा भएकै थिएन बडो रोबका साथ एक महिला पत्रकार मित्रले, प्रतिकार गरिन् । अर्को महिला पत्रकारले रिसाउँदै ‘नकराओ तिमी पुरुषहरूकै कारण त हामी महिला पछाडि परेको नि’ । अर्का एक पुरुष पत्रकार ‘म्याडम म त आज चार बजे उठेर भात पकाएर आएको मेरी पत्नीको बिहानै कलेज जानुपर्छ, के मैले उसलाइै पछाडि पारेको छु त ?’ म नाजवाव । सोध्छु प्रश्न एउटा बुझ्छन् एउटा । अनि व्यवहारमा फरक उत्रने त भइहाल्यो । अचेल हामी नेपाली निकै बाठा भइसक्यौँ । आँ गर्दा अलंकार बुझ्ने बानीको विकास ‘दिन दुगुना रात चौगुना’ भएको छ ।
हामी राष्ट्र बलियो बनाउने आधार के–के हुन सक्छन् भन्ने विषयमा भन्दा आफ्नो हित केमा छ भन्ने चिन्तनमा भुल्छौँ । सामाजिक सद्भाव नामको चरो कता उड्यो थाहा छैन । एकअर्काको अस्तित्व स्विकार्ने हाम्रो संस्कार कता हरायो कुन्नि ? महिलामाथि हिंसा नगर, तिमीलाई नै हानि हुन्छ ए पुरुषवर्ग भन्ने आशय रहेको ‘यत्र पूज्यते नारी, तत्र रम्यते देवता’ भन्ने हाम्रो पूर्वीय संस्कारलाई पश्चिममा शब्द जेन्डरमा व्याख्या गर्दा महिलावादी वा अति महिलावादीसँग जोडेर हेर्छौं, सबैको संस्कृति जोगाऊ, धरापमा नपार भन्दा हामी सनातनी वा संकीर्ण सोच्छौँ, सबै जातिको सम्मान गर उनीहरूका संस्कृति, आवास, तहसनहस नपार नेपालको पर्यटनमा असर पर्छ भन्दा जातिवादीको पगरी लगाइदिइहाल्ने अनि मधेसका मुद्दामा गम्भीर होऔँ भन्दा तुरन्तै अमुक देशका दलाल भन्दै न्वारन गराइहाल्ने हाम्रो बानी, कति बाठा हामी ?
मिल्ने कुरामा कसको बोली बोल्दै भन्ने शंका मिलाउने कुरामा कसको संलग्नता भन्ने अनुसन्धान । वाह रे हाम्रो संस्कार, हाम्रो बुझाइ । वास्तवमा हाम्रो पत्रकारिता तोड्नेमा होइन, जोड्नेमा केन्द्रित हुनुपर्छ । एउटा ‘रग्बी’ को खेलले सारा दक्षिण अफ्रिकाका काला र गोरा जातिलाई मिलाउन सक्छ भने हामी नेपाली–नेपालीबीच उब्जने सम्भावित घृणा र बहिष्करणलाई हटाई नेपालीसँग नेपालीका मनहरू जोड्ने संयन्त्र के होला ? त्यसको खोजी गर्ने जिम्मा कसको ? अन्तमा, जो दोषी छन्, तिनीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याऔँ । एउटा अशिक्षित र विपन्न ड्राइभरको दुव्र्यवहारले सारा पहाडी वर्ग र शिक्षित तर सामन्ती सोचका महिलाको दुव्र्यवहारले सारा मधेसलाई प्रतिनिधित्व गर्दैन भन्ने विषयमा पत्रकारजगत् अझ बढी जानकार र संवेदनशील हुनु आवश्यक छ जस्तो लाग्छ ।
सौर्यबाट साभार