धनकुटा : प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोकिएपछि आक्रोशित भएका प्रदर्शनकारीले सरकारी कार्यालय, सवारी साधन, बजारमा तोडफोड र आगजनी गरेका छन् ।
स्थिति उग्र बन्दै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यू लगाएको छ । कर्फ्यू अझै जारी रहेको छ ।बजारमा शान्ति सुरक्षा कायम गर्नको लागि जिल्ला सुरक्षा समितिको बैठक बसी कर्फ्यू लगाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले बताउनुभयो । स्थानीय प्रशासनले बजारमा माइकिङ गरेर कर्फ्यू लगाएको हो । धनकुटा नगरपालिकाको आत्मरा, घुमाउने चौतारो, बिहीबारे हाट र कागते क्षेत्रभित्र कर्फ्यू लगाएको प्रजिअ उप्रेतीले बताउनुभयो ।
प्रहरी र प्रदर्शनकारीबीच धनकुटाको भिमनारायण चोक, मदनचोक र क्षेत्रीय प्रशासन कार्यालयमा झडप भएको छ । झडपमा परेर नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, धनकुटा राजधानी प्राप्ति संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठसहित ७ जना घाइते भएका छन् । राईको टाउकोमा ५ टाँका लगाएको छ । श्रेष्ठको शरिर चोट रहेको छ । त्यस्तै अजित पाख्रीन, जयन्द्र प्रधान, उत्तम खड्गी, रमेश पौडेल र अतित विक सामन्य घाइते भएका छन् । झडपमा प्रहरीले २ राउण्ड अश्रुग्यास हानेको छ भने आन्दोलनकारीले ढुंगा र इँटा हानेका थिए ।
आन्दोलनकारीले धनकुटामा क्षेत्रीय प्रशासन कार्यालयमा आगो लगाएका छन् । पेट्रोल छर्केर आगो लगाउँदा कार्यालयको फर्निचर, कम्प्युटर र कागजपत्र जलेको छ । त्यसै गरी जिल्ला मालपोत कार्यालय, हुलाक कार्यालय, उच्च अदालत विराटनगरको धनकुटा इजलास कार्यालय, सरकारी वकिल कार्यालय र शहरी विकास कार्यालयमा तोडफोड गरेका छन् । आन्दोलनकारीले ती कार्यालयको भित्र पसेर सवै सिसा र फर्निचर तोडफोड गरेका छन् ।
त्यसै गरी प्रदर्शनकारीले आगो निभाउन हिँडेको धनकुटा नगरपालिकाको दमकल र दलित हकहित समन्वय समिति केराबारी मोरङको को२च ४३२ नम्बरको एम्बुलेन्स तोडफोड गरेका गरेका छन् । ती गाडीको सबै सिसा फुटाएका छन् । त्यसै गरी शहरी विकास कार्यालयको प्राङ्गणमा रोकेर राखेको को१ब १०६४ नम्बरको मोटरसाइकल प्रदर्शनकारीले जलाइदिएका छन् ।
यातायात र बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारीले रोकेर राखेको गाडी र पसलमा तोडफोड गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि धनकुटामा थप तनाव सुरु भएको थियो ।
आगोले लाग्दा प्रदर्शनकारीहरुले बिहान साढे ८ बजे तिर धनकुटा बजार बन्द गराउँदै हिँडेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदिप राजभण्डारी आफै गाडी लिएर प्रदर्शनकारीलाई पक्राउ गर्न आएका थिए । उग्र भएका प्रदर्शनकारीले एसपी चढेर आएको ना. १ झ १३१४ नम्बरको गाडी तोडफोड गरेका थिए ।
यस घटनापछि धनकुटामा ठूलो समूहमा सुरक्षाकर्मी परिचालन गरिएको छ । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन ३४ दिनबाट जारी आन्दोलन र आम हडतालका कारण जनजीवन प्रभावित भएको छ । बुधबार सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटाको आन्दोलन थप उग्र बनेको हो । आन्दोलनको कारण कोशी राजमार्गको धनकुटामा यातायात बन्द रहेको छ ।
धनकुटामा आन्दोलन गरिरहेका बजारबासीलाई सुरक्षाकर्मीले धरपकड गरेको बन्दै धनकुटाबाट निर्वाचित प्रतिनिधिसभा सांसद राजेन्द्र राई, प्रदेशसभा सांसद निरन राई र इन्द्रमणी पराजुली , नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र जिल्ला कमिटी, नेवि संघ र तरुण दलले प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध जनाएका छन् । उज्यालोबाट






















































