माङसेबुङ, सेवाकेन्द्र र सवालहरु

आङबुहाङ अवोध अविरल

स्थानीय तह निर्वाचन भएको धेरैपछि पुस तेस्रो साता माङसेबुङ गाउँपालिकाको सेवा केन्द्र गाउँपालिकाले चतुरेलाई तोकेको छ । माङसेबुङ-३ मा अवस्थित चतुरेलाई गापाको सेवा केन्द्र तोकिएपछि माङसेबुङको खानेपानीको मुख्य स्रोत प्रदुषित हुने भएकाले यसको चर्को बिरोध शुरु भएको छ । स्वदेश विदेशका हजारौं किरात धर्मावलम्बीहरुले समेत सामाजिक सञ्जालबाट तिब्र विरोध जनाइरहेका छन् ।

स्थानीय तहको निर्वाचन भएको करिब छ महिनापछि गापाले सेवा केन्द्र चुनावी प्रक्रियाबाट टुङ्ग्याएको थियो । सेवा केन्द्र कहाँ रहने भन्ने बारे लामो बहसहरु भएको भएको थियो । सेवा केन्द्रका निम्ति साविक इभाङको कार्यालय र चतुरेमा प्रस्ताव गरिएको थियो । चतुरेमा सेवा केन्द्र राखिनाले किरात धर्मावलम्बीहरुको केन्द्रस्थल माङसेबुङबासीको खाने पानी प्रदुषित हुने र यसले समुदायको स्वाथ्यमा गम्भीर समस्या आउने भन्दै किरात धर्मसम्बद्ध धार्मिक, शैक्षिक र राजनीतिक दलहरुले सेवाकेन्द्र त्यहाँ नराख्न अनुरोध गरेका थिए ।

चतुरे सेवाकेन्द्र तोकिएपछि असन्तुष्ट बनेका माङसेबुङबासीले गाउपा भवनका निम्ति सम्याइएको मैदानमा कालो झण्डा गाढेर काम अघि नबढाउन माग गरेका छन् । यसैगरी इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरेर सेवा केन्द्र अन्यत्र नै सार्न अनुरोध गरेका छन् । गापाको सेवा केन्द्रले थुप्रै सवालहरुलाई उजागर गरेको छ ।
जन प्रतिनिधिको निर्णय अन्तिम हुन्छ ?

जनप्रतिनिधिले चुनावको माध्यमबाट चतुरेमा सेवा केन्द्र तोकेपछि फेरि आन्दोलन गर्नुको औचित्य नभएको एकाध जिम्मेवार व्यक्तिहरुबाट सुन्न पाइयो । लोकतन्त्रमा जनताले आफ्नो शासक मतमार्फत चयन गर्दछन् । ती जनप्रतिनिधिहरुले जनताको भावना प्रतिविम्बित गर्नुपर्दछ । त्यस मानेमा जनप्रतिनिधिको निर्णय नै अन्तिम हो भन्ने आधार होला । तर, प्रश्न उठ्छ, जनप्रतिनिधिले सबै राम्रो निर्णय गर्छन् ?

लोकतन्त्रमा कहिले काहीँ खराब कुराका निम्ति जनप्रतिनिधिको एक ठाउँमा उभ्छन् । संसारमा यस्को हजारौं उदाहारण छन् । त्यसैले लोकतन्त्रलाई “भीडतन्त्र” पनि भनिन्छ । भनिन्छ, कुनै बेला ९९ जना लठुवा खराब पक्षतिर र एक जना असल मानिस सत्यको पक्षमा उभिने अवस्था पनि लोकतन्त्रमा आउँछ । यस्ता हजारौं उदाहारण संसारमा छन् । जसलाई लोकतन्त्रको कमजोर पक्षको रुपमा लिइन्छ । त्यसबेला जनतामा एउटै उपाय हुन्छ, गलत निर्णयको विरोध गर्ने र निर्णय सच्याउन बाध्य पार्ने ।

राजाले गरेका नराम्रा निर्णय जनताले बिरोध गर्दछन् । संसदले पारित गरेका जनहित विपरितका कानूनको जनताले बिरोध गर्दछन् । जनहित विपरित सरकारका कार्यक्रमहरुलाई जनताले दुत्र्काछन्, जनतामा लागू हुन सक्दैनन् । असहमति र विरोध गर्न पाउने अधिकार लोकतन्त्रको अर्को सुन्दर पक्ष हो । माङसेबुङका जनप्रतिनिधि पनि लोकतन्त्रिक प्रणालीभित्र छन् । हामीले भ्रम राख्नु हुन्न उनीहरु सर्वेसर्वा हुन् । सेवा केन्द्र तोक्दै गर्दा जनतालको स्वाथ्यमा दिर्षकालीन असर पार्ने निर्णयको विरोध हुनु अनौंठो विषय होइन । जनप्रतिनिधिको निर्णय ढुङ्गाको अक्षरमा खापेजस्तो मेटाउने नसकिने हुन्न । जनप्रतिनिधिको निर्णय काजमा मात्र हैन जनभावनामा लेखिन सके मात्र त्यो दर्बिलो हुन्छ ।

विकास कि विनास ?

अचेल जनतामा विकासको भोक छ । राजनीतिले भोक जगाई दिएको छ । विकास र समृद्धि जनताका सपना बनेको छ, वा बनाइएको छ । एक अर्थमा विकास र समृद्धि जनतालाई पासोमा पार्ने चारोको रुपमा पनि प्रयोग गरिंदै आएको छ । तर, खास विकास के हो? विकासले के दिन्छ ? के सबै कुरा विकास मात्र हो भन्ने एङगलबाट जनताले खासै सोचेको देखिन्न । विकासको नाममा जे पनि स्वीकार्नाले कतिपय अवस्थामा विनास निम्त्याइरहेको हुन्छ ।

सकरात्मक परिवर्तनलाई विकास भनिन्छ । कुनै व्यक्ति, समुदाय र राष्ट्रमा केही सकरात्मक परिवर्तन आएमा त्यो विकास कहलिन्छ । विकासको नाममा नकरात्मक परिवर्तन आएमा त्यो विनास हुन्छ । हामीले माङसेबुङ गापाको सेवा केन्द्र चतुरे राख्यौं । यो भौगोलिक हिसाबले मध्य भागमा पर्छ । सबैको पायक स्थानमा पर्छ भन्ने तर्कको सान्दर्भिकतालाई नकार्न सकिन्न । यसले माङसेबुङका जनतालाई सेवा लिन सहज त पार्छ नै । तर, चतुरेलाई सेवा केन्द्रसँगै बिस्तार हुने शहरले माङसेबुङको खानेपानीको स्रोत प्रदुषित हुन्छ । चतुरेलाई शिर बनाएर बगेको खोल्साबाट आउने पानी माङसेबुङको खानेपानीको मुख्य स्रोत हो । यहीबाट दिनमा लाखौं लिटर पानी आपूर्ती भइरहेको छ । यदि चतुरेमा सहर निर्माण गर्ने हो भने किरात धर्मावलम्बीहरुको केन्द्रस्थलमा माङसेबुङे जनताको स्वाथ्यमा दिर्घकालीन असर पर्ने निश्चित छ ।

विकास निर्माणमा हामीले ध्यान दिनुपर्ने विषय भनेको पर्यावरणीय सन्तुलन हो । दिगो विकासको पूर्वसर्त वातावरणीय सन्तुलनमा ध्यान पुर्याउनु हो । विकास गर्दा भावि पुस्ताको हितलाई समेत ध्यानमा राखेर विकास गर्नु पर्दछ भन्ने धारणा अहिले विश्वभर बहस भइरहेका विषय हुन् । नेपालसमेत दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सहभागिता र सहमति जनाइरहेको छ । यो धर्तीका निम्ति हामी नै अन्तिम पुस्ता हैनौं । हामी जस्ता लाखौं पुस्ता धर्तीमा जन्मने छन् । विकासका कार्यक्रम सञ्चालन गर्दा उनीहरुलाई पनि प्राकृतिक वस्तुमाथिको अधिकार हुन्छ भन्ने सोच्नु दिगो विकासको अवधारणा हो । हामीले माङसेबुङको सेवा केन्द्र पा“च वर्षका लागि मात्र तोकेका हैनौं । केही वर्ष गापाको केन्द्रमा दर्जन भवनहरुले थेग्ला । तर, दसकपछि यसको आकार बढ्छ । जन घनत्वस“गै त्यसले सिर्जना गर्ने फोहर र प्रदुषणबारे आजै सोच्न राम्रो हुन्छ ।

चतुरे माङसेबुङ माङहीम वरिपरि बस्ने, लामिटार, मनिपुर, पञ्चमी र रक्सेका जनतालाई पायक पर्ला । नागरिकता बनाउन जान नजिक हुन्छ भन्ने तर्क गलत छैन । तर, विचरणीय पक्ष के छ भने हिजो माङसेबुङका मानिसले सात घण्टा हिंडेर इलाम बजार पुगेर नागरिकता बनाएकै हो । हजार रुपैयाँ भाडा पिटेर इलाम पुगेर काम गर्नु पर्दा पनि हामीलाई काम रोकिएको थिएन । हामीले नागरिकता बनाउन जान दस मिनेट बढी हिड्दा केही फरक पर्दैन । अब झनै सेवा केन्द्र नजिकै आउँदा आँगनमै खोज्नु राम्रो हैन । हामीले पाउने सानो सुविधा र लाभले आउँदो पुस्तौ, पुस्तालाई असर पुग्छ भने आजै किन नसोच्ने ?

माङसेबुङ गाउँपालिकाको केन्द्र चतुरे बजार ।

पानीको मुहानको बिकल्प खोज्न सकिन्न ?

खानेपानि मानव स्वाथ्य र जीवनको आधार हो । मानव विकासक्रमलाई हेर्ने हो भने मानव सभ्यताहरु पानीका स्रोत नजिक स्थापित भएका थिए, छन् । अर्थात, मानव सभ्यता र विकासको पूर्व सर्त खाने पानी हो । मायानलगायतका थुप्रै त्यस्ता सभ्यताहरु संसारबाट लोप भए । त्यसको कारण थियो–पर्यावरणीय असन्तुलन र प्राकृतिक स्रोतको अप्राप्तता र त्यसले सिर्जना गरेको द्वन्द्व ।

माङसेबुङलाई सयवर्षपछि कस्तो बनाउने ? त्यसबेला आवश्यक पर्ने प्राकृतिक स्रोतहरु कसरी बचाएर राख्ने भन्ने विषयमा आजै सोच्न सके राम्रो राम्रो हुन्छ । किरात धर्मगुरुको चाहना माङसेबुङलाई किरात धर्मावलम्बीहरुको केन्द्रस्थलको रुपमा विकास गर्ने हो । यसका निम्ति हामीलाई ठूलो मात्रामा खानेपानी आपूर्ती हुन आवश्यक छ । त्यसका निम्ति अहिले उपलब्ध पानीको स्रोत सबैभन्दा नजिक, सस्तो र शुद्ध पानीको स्रोत हो । जसले दिनमा लाखौ लिटर पानी आपूर्ती गर्न सक्छ । यसलाई राम्ररी व्यवस्थापन गरेर उपभोग गरे दसौं हजार जनतालाई पुग्छ ।

माङसेबुङ शहरको रुपमा बिस्तार हुँदै गएको छ । होटल, स्कूल, कलेज, बैंक, कारखाना र घरहरु निर्माण दिनानु दिन बढिरहेको छ । सहर बिस्तारस“गै पानिको माग पनि बढ्ने हो । खानेपानी आपूर्ती व्यवस्थित गर्न नसक्दा अहिले पनि हिउँद याममा माङसेबुङमा खाने पानीको समस्या हुने गरेको छ । त्यहीमाथि त्यो पनि प्रदुषित भयो भने त्यसले निम्त्याउने स्वाथ्य समस्या अकल्पनीय हुन्छ । पानीको मुहान सुरक्षित गर्ने, फिल्टर गर्ने, ट्यांकरबाट ल्याएर पानी बाँड्ने, मिक्लाजुङबाट पानी ल्याउने, मिनरल पानी बाँड्ने भन्ने विषयमा छलफल भइरहेका छन् । यो चाहि“ घर आगो लगाएर जीउ न्यानो पार्नु जस्तो हो । भविश्यमा अहिले उपभोग गरेको पानीको स्रोत जस्तो भरपर्दो स्रोत अरु हुन सक्दैन । अन्य विषय स्वैरकल्पना मात्र हुन्, वा गर्न ज्यादै कठिन र खर्चालु छन् ।

चतुरेका चार विकल्प

चतुरे सेवा केन्द्रका विकल्पका रुपमा पहिलो साविक सेवा केन्द्र हो । जसमा यसअघि कार्यालय सञ्चालन भइरहेको छ । सो स्थानमा सेवा केन्द्र हुन सक्ने आधार साविक तीन गाविसको मध्य भागमा पर्नु हो । बा“झो, इभाङ र गजुरमुखीका जनताका निम्ति यो मध्यमा पर्दछ । चतुरेको दोस्रो विकल्प माङमालुङ हुनसक्छ । रमणीय स्थान माङमालुङमा यसअघि पनि सेवा केन्द्रको छलफल भएको थियो । भूगोलको हिसाबले छेउमा परेपनि सेवा लिनका निम्ति यो स्थान पायक पर्न सक्छ । तेस्रो, माङसेबुङ हुन सक्छ । विकास संरचनाका हिसाबले विद्युत, सडक, प्रहरी चौकी, होटल, क्याम्पस, रेडियो सेवा उपलब्ध भएकाले माङसेबुङ उपयुक्त हुन सक्छ । यसैगरी माङसेबुङ सहरका रुपमा विकास हुन यसको पूर्वाधारको रुपमा लिन सकिन्छ । चतुरेको चौथौं विकल्पमा माङसेबुङको खानेपानिलाई प्रत्यक्ष असर नपर्ने गरी चतेरेदेखि मुनीका स्थानहरुमा सार्नु हुनसक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार