माघे संक्रान्तिका वैज्ञानिक पक्ष

नारायणप्रसाद निरौला 

सूर्य धनु राशिबाट मकरमा प्रवेश गरेको दिनलाई माघे संक्रान्ति भनिन्छ । संक्रान्तिको अर्थ पनि एक स्थानबाट अर्कोमा संक्रमण हुनु नै हो । हाम्रा महिनाको निर्धारण सूर्यको गतिका आधारमा गरिएको छ । सूर्यले एक राशि वा ३० अंश पार गरेपछि एक महिना हुने गर्दछ । १२ राशिमा सूर्य परिक्रमा गर्न लागेको समय नै एक वर्ष हो । जहाँ ३६० अंश(डिग्री) हुन्छ । मकर राशिमा सूर्य भएको महिना माघ हुन्छ । जुन दिन सूर्य मकर राशिमा प्रवेश गर्छन् त्यो दिन नै मकर संक्रान्ति हो । संक्रान्तिलाई धर्मशास्त्रले विशेष व्याख्या गरेको छ । संक्रमण भएको विशेष समयलाई पुण्यकाल भनिन्छ । उक्त समयमा गरिएको दान पुण्यादि कर्मले अक्षय फल प्राप्त हुने कुरा धर्मशास्त्रमा उल्लेख पाइन्छ ।

मकर संक्रान्ति विशेष पर्वका रूपमा मनाउनुमा खगोलीय कारण मुख्य रहेको पइन्छ । मकर संक्रान्तिबाट सूर्य उत्तरायणमा लाग्दछन् । सूर्य उत्तरायणमा लागेको पहिलो दिन भएर पनि यसको विशेष महिमा रहेको पाइन्छ । उत्तरायणलाई हरेक कार्यका निम्ति शुभ मानिन्छ । उत्तरायणमा मृत्यु भयो भने पनि उत्तम लोक प्राप्त हुन्छ भन्ने धर्मशास्त्रीय मान्यता रहेको पाइन्छ । सूर्य ६ महिना आकाशको उत्तरी गोलमा र ६ महिना दक्षिणी गालमा रहने गर्दछन् ।

उत्तरायण लागेपछि सूर्य आजको भन्दा भोलि केही उत्तरतिरबाट उदाउन थाल्दछन् । हामीले प्रत्यक्ष पनि अवलोकन गर्न सक्दछौँ । उत्तरायणको समयमा सूर्य पूर्वी क्षितिजमा (हिजोको तुलनामा आज) केही उत्तरतिर सरेर उदाएको देख्न सकिन्छ । सूर्य सदा पूर्वको एकै ठाउँबाट उदाउँदैनन् । सूर्य हिँड्ने बाटोलाई क्रान्तिवृत्त भनिन्छ । पूर्वी क्षितिजको ६ महिना उत्तर र छ महिना दक्षिण तिर सर्दै उदाउने क्रम वर्षै भरि चलिरहन्छ । माघ एक गतेबाट सूर्य उत्तरतिर सर्दे उदाउने भएकाले यस दिनबाट उत्तरायणको आरम्भ भएको हो ।

उत्तरायण हरेक कार्यका निम्ति शुभ मानिन्छ । खगोललाई (आकाशलाई) उत्तरी र दक्षिणी दुई भागमा विभक्त गरिएको छ । खगोलको उत्तरी भागमा देवताको निवास बताइएको छ भने दक्षिणी गोलमा दैत्यको निवास रहने गर्दछ । अर्थात् भनौँ हाम्रो एक वर्ष बराबर देवताको दिनरात (एक अहोरात्र) हुने गर्दछ । सूर्य उत्तरायणमा हुँदा देवताको दिन र दक्षिणायनमा हुँदा रात हुने गर्दछ ।

देवताको दिन भनेको हाम्रो उत्तरायणको समय हो । यस वेला गरिएका देव कर्मको विशेष फल बताइएको छ । सूर्य उत्तरायणमा हुँदा राक्षसका निम्ति भने रातपर्ने गर्दछ । उत्तरायणमा गरिएका कार्यले देवता खुसी हुने भएकाले यो समयलाई उत्तम मानिएको हो । यसरी देवताको दिन रातसम्बन्धी व्यवस्थाको गोलीय उपपत्ति ज्योतियाशास्त्रका सिद्धान्तग्रन्थमा पाउन सकिन्छ ।

उत्तरायण मनुष्यका निम्ति शुभ समय हो । यही शुभ समयको आगमनमा हर्षोल्लासपूर्वक मकरसंक्रान्ति स्नान गर्ने शास्त्रीय विधि रहेको छ । गंगा एवं तीर्थमा गरेको स्नानले देह शुद्धिका साथै अक्षय पुण्य प्राप्त हुने कुरा धर्म शास्त्रमा उल्लेख पाइन्छ । ‘गंगायां शतगुणम् गंगायमुनासंगमे एतच्शतगुणमिति यत्र कुत्रापि स्नाने प्रयागस्मरणं कार्यम् ।।

(धर्मसिन्धु द्वितीय परिच्छेद) अर्थात् गंगास्नान गरे सय गुण शुभ फल मिल्छ । गंगार यमुनाको संगममा स्नान गरे त्यसको पनि सय गुणा शुभ फल प्राप्त हुन्छ । अतः गंगामै पुग्न नसके पनि प्रयागको स्मरण गर्नु पर्दछ हजको उत्तम फल प्राप्त हुने कुरा धर्मसिन्धुमा उल्लेख पाइनछ । यसरी स्नान गर्दा विशेष संकल्पपूर्वक गर्नु पर्दछ । यसरी गरिएको स्नानले दुःख दरिद्र हटेर जाने कुरा पनि शास्त्रमा उल्लेख पाइन्छ ।

भुइँम शयन गरी तिल घ्यु हवन गरी ब्रह्मचर्यापूर्वक तिल खानाले महाफल प्राप्त हुने कुरा धर्मसिन्धुले उल्लेख गरेको छ ः
भुमौ शयित्वा होतव्यमाज्यतिलसमन्वितम् ।
हविष्यंं ब्रह्मचर्यञ्च माघमासे महाफलम् ।। (धर्मसिन्धु द्वितीय परिच्छेद पृ १०५)
यसैगरी, यस दिन दाउरा, कम्बल, बस्त्र, जुता, तेल, घिउ, त्रिपाल, सुन, अन्नदान गर्नाले महत् पुण्य प्राप्त हुने कुरा पनि धर्मसिन्धुमा उल्लेख पाइन्छ ः ‘अत्रेन्धनकंबलवस्त्रेपाहनतैलघृतपूर्णपटीसवर्णान्नदानानि महाफलानि’ (धर्मसिन्धु द्वितीय परिच्छेद) यसैगरी, माघमा स्नान गर्नाले इच्छाएको फल प्राप्त हुने कुरा निर्णयसिन्धुमा पनि बताइएको छ । दान कुन समयमा गर्नु लाभदायी हुन्छ भन्नेसम्बन्धी निर्णय मुहूर्त शास्त्रमा यसरी बताइएको छःः
याम्यायने विष्णुपदे चाद्या मध्यास्तुलाजयोः ।
षडशीत्यानने सौम्ये परा नाड्योऽतिपुण्यदा ।। ( मुहूत्र्तचिन्तामणि, ३।८)

अर्थात् दक्षिणयन लाग्नुपूर्वको समय र उत्तरायण लागेपछिको समयलाई पुण्यकाल बताइएको छ । यस्तो समयमा गरिएको दानको अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । यस दिन दिएको दानको फल यस जन्म तथा अर्को जन्ममा समेत प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । साथै यस दिन सेतो तिल देवताको लागि र कालो तिल पितृको लागि तर्पण गर्नु उत्तम हुने कुरा धर्मसिन्धुमा उल्लेख पाइन्छ । यस दिन शिव लिंगमा शुद्ध घिउको अभिषेक गर्नाले महाफल प्राप्त हुने पनि बताइएको छ । वायुपुराणले ब्र्रह्ममुहूर्तमा स्नानपश्चात् पीपललाई छोई सूर्यको परिक्रमा गर्नुपर्छ भनी बताएको छ ।

ब्रह्माण्ड पुराणका अनुसार यशोदाले मकर संक्रान्तिको अवसरमा दही मख्खन दान दिएकी थिइन् । त्यसै कारणले पुत्रको रूपमा भगवान श्री कृष्ण प्राप्त भएको कथा उल्लेख छ । महाभारतका अनुसार भीष्मले यही दिन मृत्यु रोजेका थिए भने भगिरथले सोही दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । त्यसैले माघे संक्रान्तिका दिन प्रयाग र गंगासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।

माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् ।
स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ।।
यस दिन घिउ र कम्मल दान गर्नाले इह लोकको मुक्तिका साथै परलोकमा मुक्ति पनि प्राप्त हुन्छ भनी बताइएको छ । दानका साथै मासफल श्रवणको पनि विशेष महिमा रहनेको पाइन्छ । शास्त्रमा संक्रान्ति फल एवं पञ्चांग श्रवणको पनि विशेष विधि बताइएको छ । तिथि, बार, नक्षत्र, योग करणअनुसार सूर्य कसरी संक्रमण भएका छन् सोही अनुसारको शुभाशुभ फल प्राप्त हुने कुरा पनि मुहूर्त शास्त्रमा उल्लेख पाइन्छ ।

माघे संक्रान्तिका दिन माघी पर्व पनि मनाइन्छ । लोक संस्कृतिअनुसार आफ्ना देवताको पूजा गरी माघीको प्रसाद खाई एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाउने माघी पर्वको पनि विशेष महिमा रहेको पाइन्छ । साथै विभिन्न तीर्थस्थलमा मेला लाग्ने पनि चलन रही आएको पाइन्छ ।

स्नान गर्दा कायिक अर्थात् शारीरिक शुद्धि हुन्छ भने दानले आत्मिक शुद्धि मिल्ने गर्दछ । संक्रान्ति शुद्धताको प्रतीक हो । पवित्र भावनाले गरिएको दानको अक्षय पुण्य प्राप्त हुने भएकाले संक्रान्तिमा दानको विशेष महिमा बताइएको छ । यसरी खगोलीय परिवर्तन भएको समयमा हामी शारीरिक एवं आत्मिक रूपले शुद्ध हुनुपर्छ भन्ने संक्रान्तिसम्बन्धी पौरस्त्य धारणा वैज्ञानिक र तथ्यसम्मत रहेको पाइन्छ ।

उपप्राध्यापक, ज्योतिषाचार्य, वास्तुविद्

सौर्यबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार