नयाँ बुलन्द
जितपुर : इलामको देउमाई नगरपालिका वडा नम्बर ९ स्थित जितपुरमा तीन दिने प्रस्तावना लेखन र सचेतनामूलक तालिम सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद देउमार्ई नगरापापलिका वडा नम्बर ९ को आयोजनामा तालिममा वडाका २१ महिला सहित ४४ आदिवासी जनजाति युवाहरुको सहभागिता रहेको थियो ।
तालिमका सहभागीहरुलाई किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य यामप्रसाद लिम्बू, नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष चक्र येक्तेन (अभिषेक) र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रस्तावना र प्रतिवेदनको परिचय, उदेश्य, ध्यान दिनुपर्ने कुराहरु, खण्ड, ढाँचा, प्रस्तावना र प्रतिवेदनको भिन्नता, आदिवासी जनजातिका वर्तमान सवालहरु, अन्तरराष्टिय श्रम संगठन १६९ मा भएका आदिवासीका अधिकारहरु, संघीय नेपालमा पहिचानको मुद्धा र आदिवासीको भूमिका, नेपालको संविधानमा आदिवासीका पक्षमा र विपक्षमा भएका व्यवस्थाहरु लगायतका विषयमा छलफल भएको थियो ।
आयोजक नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद देउमार्ई नगरपालिका वडा नम्बर ९ का अध्यक्ष सीता दर्लामी मगरको अध्यक्षता र देउमाई नगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रेमसागर बरालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा वक्ताहरुले तालिमबाट सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्न सुझाव दिएका थिए । कार्यक्रममा प्रमुख अतिथी बराल, वडा सचिव युवराज घोर्साई, सहजकर्ता यामप्रसाद लिम्बू र राम योङहाङ, सहभागीका तर्फबाट तुलबहादुर मगर र पुष्पा लिम्बूले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन आयोजकका सचिव हरी लायो मगरले गरेका थिए । कार्यक्रम समापनका अवसरमा सहजकर्ताद्वयलाई अयोजकका तर्फबाट प्रशंसापत्र सहित सम्मान समेत गरिएको थियो ।
















































