नरेन इलामेली
माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका वडा नम्बर १ (साविक नयाँबजार गाविस) लाई बुधबार पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको छ ।
वडा अध्यक्ष यामकुमार कार्कीको अध्यक्षता, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख मोतिउर रहमानको प्रमुख आतिथ्यता तथा माइजोगमाई माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको विशेष आतिथ्यतामा विभिन्न संघ संस्थाका प्रतिनिधी तथा वडावासीको उपस्थितिमा सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको हो ।
वडा सचिव गोकुल संजेलले संचालन गरेको कार्यक्रमसमा स्वागत मन्तब्य वडा सदस्य देवी खरेलले गरेका थिए । सरसफाई सम्बन्धी प्रगती विवरण सुनगाभा विकास संस्थाकी मुना धितालले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमका बारेमा सुनगाभा विकास संस्थाका विमल खरेलले प्रकाश पारका थिए । माइजोगमाई वडा नम्बर १ मा एक हजार पाँच घर धुरी र चार हजार २१ जनसङ्ख्या रहेकोमा ९० प्रतिशत पूर्ण सरसफाई सुचकहरु पुरा गरेकाले वडालाई पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको खरेलले बताए ।
कार्यक्रममा मन्तव्य राख्दै श्रोत व्यक्ति गणेशप्रसाद आचार्यले स्वास्थ्य रहनका लागि खानपान र सरसफाईमा ध्यान दिनुपर्ने बताए । मानिसको गलत खानपान र सरसफाईमा हुने लापरवाहीका कारण रोगको शिकार बन्नु परेको भन्दै सरसफाईमा ध्यान दिनुपर्ने आचार्यले बताए ।
त्यस्तै स्वास्थ्य रहनका लागि सरसफाईका तीन चरणहरु व्यक्तिगत, पारिवारिक र वातावरणीय सरसफाईलाई ध्यान दिँदै स्वास्थ्य वातावरण बनाउनका लागि गाउँपालिका र वडा कार्यालयले निती नियम बनाएर प्रभावकारी रुपमा लागु गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका अधिकांश बबक्ताले पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरेर मात्र केहि नहुने र यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गर्ने अभियानमा सक्रिय रुपमा सहयोग गर्ने विभिन्न संघ संस्थाक र व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
वडामा साविक नयाँबजार गाविसको आयोजना, ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोग र सुनगाभा विकास संस्थाको सहजिकारणमा १ साउन २०७१ बाट सरसफाई कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रमको सुरुवाती चरणमा जनस्तरमा जनचेतनसको अभावका कारण काम गर्न एकदमै गाह्रो भए पनि पछाडी चेतनाको स्तर पनि वृद्धि भएको र यस अभियानलाई सफल पार्न सहयोग गरेको भन्दै सुनगाभा विकास संस्थाकी परिचालिका मुना धितालले वडावासीहरुलाई धन्यवाद दिएकी थिइन् ।
यसअघि वडा नम्बर ६ प्याङलाई भने मंगलबार नै पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको थियो । योसँगै नयाँबजार इलामकै तेस्रो पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषित भएको हो ।