जिसस कामविहीन, स्थानीय तह कर्मचारीविहीन

राम योङहाङ

इलाम : जिल्ला समन्वय समिति इलामका जिल्ला समन्वय समिति (जिसस) का जिल्ला समन्वय अधिकारी झरेन्द्र चापागाई दैनिक विहान पौने १० बजे कार्यालय पुग्छन् । कार्यालयमा हाजिरी गर्छन् । कुनै बैठक भए त्यहाँ उपस्थित हुन्छन् । कार्यालयसँग सम्बन्धित सिफारिस र चिठीपत्रमा हस्ताक्षर गर्छन । कर्मचारीलाई तलब खुवाउने समयमा चेकमा हस्ताक्षर गर्छन ।

जिल्ला समन्वय अधिकारी चापागाईको पछिल्लो दिनचर्या यसरी नै बित्ने गरेको छ । राज्य पुर्नसंरचनासँगै सामान्य संयोजनकारी भूमिकामा खुम्चिएपछि जिल्ला समन्वय अधिकारीको भूमिका पनि खुम्चिएको छ । सधैंजसो विहानदेखि साँझसम्मै सेवाग्राहीको भीडभाड हुने जिससमा अहिले सुनसान बनेको छ । काम नभएपछि जिल्ला समन्वय अधिकारीलाई दिन कटाउनै मुस्किल छ ।

पछिल्लो समय जिल्ला समन्वय अधिकारलाई मात्र होईन । जिससका सबै कर्मचारीको दिनचर्या यस्तै छ । उनीहरुलाई सधैंझै काम नभएपछि दिन कटाउनै मुस्किल पर्न थालेको छ । उनीहरुको दिनचर्या घाम तापेरै बित्ने गरेको छ ।

जिल्ला विकास समिति (जिविस) बाट जिससमा रुपान्तरण भएपछि काममा व्यापक कटौती भएको छ । कामको जिम्मेवारी नतोकिएकाले कर्मचारीलाई घाम तापेरै दिन कटाउनुपर्ने स्थिती बनेको जिल्ला समन्वय अधिकारी चापागाईले स्वीकार्छन् ।

स्थानीय निकायबाट नियुक्ति पाएर कार्यक्रम हेर्ने कति कर्मचारी आएका छैनन्, आएका कर्मचारी पनि काम बिहिन् जस्तै बनेका छन् । ‘प्रदेशसभा गठन र प्रदेश कानुन नभएको अवस्थामा कर्मचारीहरु भूमिका विहीन नै बने’ चापागाइँले भने, ‘सामान्य समन्वय गर्ने, पूरा नाभएका पूराना आयोजनाहरुको अनुगमन र सुपरिक्षण गर्ने काम मात्र भईरहेको छ ।

जिससलाई संविधानले स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वय र स्थानीय तहका योजना अनुगमनको भूमिकामा सीमित गरेको छ । तर, स्थानीय शासन सञ्चालन ऐनले जिससलाई सामाजिक सुरक्षा, आन्तरिक आय, स्थानीय तहका विकास योजना अनुगमन गर्ने अधिकार भने दिएको छ ।

‘सबै काम स्थानीय तहमा नै भईहाल्छ । हाम्रो खास काम समन्वय गर्ने मात्रै हो । समन्वय भईरहेको छ ।’ जिल्ला समन्वय अधिकारी चापागाईले भने, ‘संविधानमा उल्लेख गरिएको काम मात्र गर्नुपर्ने भएकाले कार्यालयमा खासै चाप छैन ।’

जिल्ला समन्वय समितिमा कार्यालय सहयोगी सहित अहिले पनि २५ जना कर्मचारी छन् । निजामतीतर्फका आठ जना कर्मचारीको दरबन्दी भएपनि हाल तीन जना कर्मचारी मात्र कार्यरत छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट लेखापाल काजमा छन्, भने प्राविधिक तर्फको दरबन्दि पनि खाली छ । तर स्थानीय विकास तर्फका ६ जना कर्मचारी भने कार्यरत नै रहेको जनाइएको छ । अन्य स्थानीय निकाय अन्तरगतका कर्मचारी छन् ।

स्थानीय तहमा कर्मचारी अभाव

यता स्थानीय तहमा भने कर्मचारी अभावका कारण कर्मचारी र सेवाग्राही दुवैलाई सास्ती छ । एकातिर जिससका दुई दर्जन कर्मचारी कामविहीन हुँदा अर्कातिर अधिकांश स्थानीय तहमा कर्मचारी अभाव छ । गाउँपालिकाहरूमा लेखापाल र प्राविधिकका दरबन्दी अनुसार कर्मचारी नहुँदा काम प्रभावित बन्दै गएका छन् ।

जिससमा रहेका कतिपय पद र दरबन्दी गाउँपालिका, नगरपालिकामा नभएकाले कर्मचारी व्यवस्थापनमा समस्या भएको जिल्ला समन्वय अधिकारी चापागाईले बताए । चार नगरपालिका र ६ गाउँपालिकाको ८१ वटा वडा रहेको इलाममा अझैपनि २८ वटा वडामा कर्मचारी पुगेको छैन । त्यहाँ नासु र खरीदार स्तरका कर्मचारी नै छैनन् । कर्मचारी अभावमा वडा सचिव आफैले सबै काम भ्याइरहेको अवस्था छ । अधिकाशं वडामा त एक सचिवले दुईवटासम्म वडाको काम सम्हाल्नुपरिरहेको छ ।

माई, देउमाई र सुर्योदय नगरपालिका तथा रोङ, माईजोगमाई, फाकफोकथुम, सन्दकपुर, माङसेबुङ र चुलाचुली गाउँपालिकाका केही वडाहरुमा कर्मचारी नपुगेको बताइएको छ ।

गाउँपालिका तथा नगरपालिकामा पनि आवश्यक मात्रामा कर्मचारी पूर्ती हुन सकिरहेको छैन । जिससका कर्मचारी स्थानीय तहमा पठाउनका लागि स्थानीय तहको कर्मचारी संरचना नबनेको र कामको जिम्मेवारी नतोकिँदा समायोजन गर्न नसकेको जिल्ला समन्वय अधिकारी चापागाईले बताए ।

‘अधिकृत स्तरका कर्मचारीलाई वडा कार्यलयमा नासु तथा खरदारको कामकाज गर्न पठाउन सकिने अवस्था छैन’ चापागाईले भने, ‘साविक जिविसका आठ कर्मचारी पनि जिससमा कार्यरत छन् । सम्मानजनक समायोजन नभएसम्म उनीहरु जाँदैनन् ।’ स्थानीय तहको कर्मचारी संरचना बन्नसाथ ती कर्मचारी पनि समायोजन हुने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार