सुजता सुनुवार
इलाम : इलाममा सुन्तला उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यलय इलामको तथ्याङ्ग अनुसार यस आव २०७३÷०७४ मा तीन हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
जुन गत आवको तुलनामा एक सय ६ मेट्रिक टनले बढी हो ।गत आवमा जिल्लामा ३ हजार पाँच सय २३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
जिल्लाका सुम्बेक, नामसालिङ, जिर्मले, सोयाङ्ग, बरबोटेलाई सुन्तलाको व्यावसायिक खेती हुने क्षेत्र मानिन्छ । यस्तै सोयाक, गोदक, इलाम नगरपालिका, पशुपतिनगर, कन्याम र लक्ष्मिपुरमा समेत सुन्तलाको खेती हुने गरेको जिल्ला कृषि विकास कार्यलय इलामका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथा शाहले बताए ।
सुन्तलामा ग्रिनिङ सिट्स जस्ता भाइरल रोग देखा परेपछि जिल्लाका धेरै गाऊका सुन्तलाका बगानहरु मा समस्या देखा परेका छन् । रोगका कारण उत्पादकत्वमा भने कमी आएको छ । गतवर्ष ११ दशमलव २८ छ भने यस वर्ष १० दशमलव ६७ रहेको अधिकृत शाहको भनाई छ ।
जिल्लाको ३५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । गतवर्ष भने ३४० हेक्टरमा सुन्तला खेती गरिएको जिल्ला कृषि विकास कार्यलय इलामले जानकारी दिएको छ ।






















































