सडक स्तरोन्‍नतीमा ढिलाई

नरेन इलामेली

माइजोगमाई : ठेक्केदार कम्पनीको लापरवाहीका कारण इलामको सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिका जोड्ने मुख्य सडकको रुपमा रहेको फिक्कल गुप्ती हुदै  नयाँबजार जोड्ने सडकको स्तरोन्नतीको कम ढिलो भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

डेनमार्क सरकारको उन्नती समावेशी परियोजना अन्तर्गत करिब १९ करोड ४७ लाखको लागतमा बन्न लागेको १९ किलोमिटर ग्राभेल बाटो निर्माण तथा स्तरोन्नतीमा ढिलाई भएको हो । सडक स्तरोन्नतीका लागि १५ महिनामा काम सक्ने गरी  २०७३ मङ्सिर १३ गते नागर्जुङ कन्सट्रकसन प्रा. लि काठमाण्डौसँग सम्झौता भएको थियो। सडक निर्माण कार्य एकदमै सुस्त गतिमा भएको र गुणस्तरीय काम नभएको भन्दै स्थानियले आक्रोश समेत पोख्ने गरेका छन् । सम्झौता भएको एक बर्ष बितिसक्दा पचास प्रतिशत पनि काम नभएको सरोकारवालाहरुको भनाई रहेको छ ।

सडक स्तरोन्नतीको कामलाई पछिल्लो समय सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त अनुगमनलाई तीव्रता दिएको छ । सडक निर्माण कार्य एकदमै सुस्त गतिमा भएको र गुणस्तरीय काम हुन नसकेको माइजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए ।

ठाउँ ठाउँमा सडक साँघुरो रहेको, निर्माण सामाग्री कमसल भएको र स्तरीय सडक बन्न नसकेको राईको भनाई रहेको छ । साथै यो सडक माइजोगमाईवासीको जीवनसँग समेत जोडिएको हुँदा स्यतरीय बनाउनका लागि नियमित अनुगमन गर्ने र खबरदारी गर्ने राइले बताए ।

त्यस्तै स्तरीय सडक बनाउनका लागि हरेक क्षेत्रबाट अनुगमन र खबरदारी गर्नुपर्ने सूर्योदय नगरपालिका वडा नं ९ का अध्यक्ष देवेन्द्र शर्माले बताए । साथै ठेक्केदार कम्पनीलाई मापदण्ड र सम्झौता अनुसार काम गर्न र अनुगमनका क्रममा भेटिएका कमजोरी र अनुगमनकर्ताले दिएको सुझावलाई ख्याल गर्दै काम गर्न समेत आग्रह गर्नु भएको छ ।

सम्झौता अनुसार ६ दशमलव २५ मिटर चौडाई भएको १९ किलोमिटर सडक खण्डमा ग्राभेल आवश्यकता अनुसार पर्खाल र सबै क्षेत्रमा नाली निर्माण समेत गर्नुपर्ने उल्लेख भए पनि स्तरीय काम हुन नसकेको र सिमेन्ट गिटी लगातक निर्माण सामाग्रीको मात्रा मापदण्ड अनुसारको नभएको र नालीमा क्युरिङ अभावका कारण अहिले नै नाली भत्किन थालेको अनुगमनमा सहभागी अन्य व्यक्तिहरुको भनाई छ ।

उता निर्माणको जिम्मा लिएको नागर्जुङ कन्सट्रकसन प्रा. लिले  भने विविध कारणले काममा ढिलाई भएको र आगामी दिनमा कामलाई तीव्रता दिनुका साथै आगामी दिनमा कामलाई व्यवस्थित र स्तरीय बनाउने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार