आदिवासी रंगशाला नामाकरण गर्न ध्यानकर्षण

नयाँ बुलन्द

झापा : नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ का नेताहरुको एक टोलीले झापाको कमल गाउँपालिकामा निर्माणाधीन रहेको रंगशालाको नाम आदिवासी जनजाति रंगशालानै हुनुपर्ने माग राख्दै शुक्रवार प्रधानमन्त्री शेरवहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

गत मंसिर २१ गते सम्पन्न भएको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार भएका डाक्टर खगेन्द्रपाण्डव अधिकारी, प्रदेशसभा २ बाट उम्मेदवार भएका राजन बहादुर ढुंगानासहितको टोलीले प्रधानमान्त्री शेरबहादुर देउवालाई भेटि त्यस्तो माग राखेका हुन् ।

टोलीले आदिवासी जनजातिहरुको पहिचानलाई स्थापित गर्नका लागि रंगशालाको नाम कुनै पनि हालतमा आदिवासी जनजातिनै हुनुपर्ने माग राखिएको कांग्रेस नेता डाक्टर अधिकारीले बताए ।

त्यस ठाँउमा आदिवासी जनजातिहरुको चिहानस्थल रहेकोमा रंगशाला निर्माणको समयमा आदिवासी जनजातिको नाम राख्ने भनि सहमती भए अनुसार पहिलो चरणमा सोही नामबाट बजेट बिनियोजन भएको थियो । तर पछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको समयमा रंगशालाको नाम परिवर्तन गरी मदन भण्डारी रंगशाला राखिएको भन्दै चौतर्फी विरोध भएको थियो ।

टोलीमा कांग्रेस झापा जिल्ला सभापति उद्धव थापा, महासमिति सदस्य सुरेश सुब्बा, आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बराम र महासचिव नित्यानन्द ताजपुरियालगायत सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार