गरीबका लागि बरदान बन्दै ‘स्वास्थ्य बिमा’

सुजता सुनुवार

इलाम : इलामको सन्दकपुर गाउँपालिका २ का भूपाल गुरुङ्गलाई नर्मल ब्लड क्यान्सर भएको छ । चार जनाको घरपरिवार । त्यसैमाथि श्रीमती पूर्णमाया गुरुङ्गको पनि निरन्तर ब्लड विल्डिङ्ग भइरहने समस्या । दुई छोरीहरु भर्खर ११ र १२ मा पढ्दैछन् ।

निरन्तर स्वास्थ्योपचार गर्ने क्रममा ऋण काडेर खर्च गर्दागर्दै आफैलाई मात्र साढे सात लाख खर्च गरेको भूपालले सुनाए । ‘श्रीमतीलाई पनि समस्या छ, स्वास्थ्योपचार गर्नै पर्यो’ भूपालले निराश हुदै भने, ‘धन्न श्रीमतीलाई चाँही एक लाखसम्म मात्र आफ्नै खर्च लाग्यो, अहिले बाँकी खर्च भने स्वास्थ्य बिमाले नै गरीरहेको छ ।’

यातायातको राम्रो सुविधा नभएको गाउँ,  कमजोर आर्थिक स्थिति भएको परिवार । श्रीमान् मात्र होइन श्रीमती पनि विरामी । ‘कमाउने बलियो आधार नहुँदा र पूर्णरुपमा दुवै जना स्वस्थ्य नहुँदा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ’ भूपालले भने, ‘कमाउने कोही नहुनु खर्च मात्र निरन्तर गरीरहनु पर्दा तीन वर्ष त साह्रै अभाव र तनावमा बिताए’ भूपालले भने ।

उनले भने ‘खर्चकै अभावले एक वर्ष त उपचार नै नगरी बिताएँ । अहिले स्वास्थ्य बिमा गरेको दुई वर्ष भयो । श्रीमतीलाई महिनै पिच्छे उपचार सित्तैमा गर्न पाएका छौँ । भूपालले भने, बल्ल अलि हल्का महशुस गर्न पाएको छु । मेरो पनि स्वास्थ्य बिमाबाटै स्वास्थ्योपचार गराउन काठमाण्डौँको टिचिङ्ग हस्पिटलमा कागज पेश गरेका छौँ । श्रीमतिको जस्तै मेरो पनि स्वास्थ्य बिमाबाट उपचार हुन्छ की भन्ने आश छ ।’ भूपालले भने, ‘बाँचे भने त लागेको ऋण तिर्न सक्छु नी भन्ने भरोसा छ ।’

अभावका बाबजुत ऋण काडेर उपचार गर्ने गुरुङ्ग परिवार मात्र होइन । इलामको सन्दकपुर गाउँपालिका दुईका फाल्गुणप्रसाद खतिवडाले पनि ४५ हजार ऋण काडेर उपचार लगाएको बताए । उनई तीन वर्ष अगाडी स्टोन भएको थियो । अहिले भने उपचार गर्न कहाँबाट ऋण काड्ने होला भन्ने समस्याबाट मुक्त भएको फाल्गुणले बताए ।

२५ सयमा ४० हजारसम्मको सेवा लिइसकेको उनको भनाई छ । अस्पताल जाँदा पनि आफूसँग भएको पैसाले पुग्ला नपुग्ला भनेर चिन्ता लिनु पर्ने समस्या समेत अब नरहेको फाल्गुणले बताए । आफै कमाउन नसक्ने र कमजोर आर्थिक अवस्था भएकालाई त झन् स्वास्थ्य बिमा बरदान जस्तै बनेको छ । जिल्लाका दलित, गरिब र भौगोलिक रुपमा अलि विकट मानिएका ठाउँका मानिसहरुका लागी स्वास्थ्य बिमाले बोझिलो पाटोलाई हल्का बनाइदिएको विमितहरुको भनाई छ ।

कुल दुई लाख ८७ हजार नौ १६ जनसंख्या रहेको इलाममा गरिबीका रेखामुनी रहेका जनसंख्या कति छन् भन्ने यकिन तथ्याङ्क भने इलाममा छैन । उपचार खर्च जुटाउन नसकेर रोग पालेर बस्नु पर्ने बाध्यता धेरैको छ । अर्थ अभावकै कारण कत्तिको मृत्यु समेत भएको हुन सक्छ । इलाममा यस्ता व्यक्तिको पहिचान हुन नसक्दा स्वास्थ्य बिमाले विमितलाई दिने सेवाबाट सबै वञ्चित भइरहेका सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति इलामका दर्ता अधिकारी खेमराज अधिकारीले बताए ।

उनले भने स्वास्थ्य बिमाको योगदान रकमबाट अति गरिबलाई १०० प्रतिशत छुट, गरिबलाई ७५ प्रतिशत छुट र सिमान्तकृत गरिबलाई ५० प्रतिशत योगदान रकममा छुट पाइन्छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कार्यलय इलामको तथ्याङ्ग अनुसार एक वर्षको अवधिमा इलाममा साविकका ४८ गाविसमध्ये ४७ गाविसकाले स्वास्थ्य बिमा गराइरहेका छन् । यी गाविसबाट २१ हजार दुई सय ६४ जनाले बिमा गराई सकेका छन् । एउटामा भने दर्ता सहयोगी विरामी भएकाले केही पछि मात्र सुरु गर्ने बताइएको छ । जिल्लामा १४ हजार ४५ जना महिला र १२ हजार सात सय ५० जना पुरुषले बिमा गराएका छन् ।

पहिलो पटक छनौट गरेका दर्ता सहयोगीले काम नगरेकाले बिमित संख्या कम भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कार्यलय इलामले जनाएको छ । जिल्लामा ८६ प्रतिशतले बिमा गराएका छैनन् । १३ प्रतिशत बिमितमध्ये १६ प्रतिशतले भने सेवा लिदै गरेको बताइएको छ । जसमा मंसिर मसान्तसम्ममा इलामका विभिन्न स्वास्थ्य सस्थाबाट १५ हजार आठ सय ९५ जना, झापाबाट तीन हजार नौ सय ६५ जना र अन्यबाट सात सय २५ जनाले सेवा लिइरहेका छन् । यस्तै ४० वर्ष उमेर माथिका बिमित सदस्यहरुलाई गाऊगाऊमा गएर स्वास्थ्य बिमाले स्वास्थ्य जोखिम परिक्षण सेवा समेत दिइएको छ ।

पछिल्लो समय स्वास्थ्य बिमाप्रति आकर्षण बढ्दै गएको छ । दर्ता अधिकारी खेमराज अधिकारीले भन्नुभयो , पहिलो वर्ष अपेक्षा गरे भन्दा बढीले बिमा गराएका थिए । यस वर्ष भने अपेक्षा गरे र बिमा गर्ने उस्ताउस्तै रहेको पाइएको छ । जिल्लाका ग्रामीण भेगमा  बिमाकाबारेमा पूर्ण जानकारी नहुनु, जानकारी भएकामा दर्ता सहयोगीले सक्रिय भएर काम नगरीदिनु जस्ता समस्याले सर्वसाधारणलाई आवद्ध गराउने प्रयास तल्लो तहसम्म पुग्न सकेको छैन ।

जिल्ला अस्पताल इलाममा उपचारका लागी दैनिक विमितको संख्या बड्दै गएको जिल्ला अस्पताल इलामका विशेषज्ञ डाक्टर प्रभु शाहले बताए । जटिल समस्या नभए पनि स्वास्थ्य अवस्था बुझ्न मात्रै भए पनि विमित अस्पताल आउने गरेको शाहको भनाई छ । इलाममा चार ओटा स्वास्थ्य केन्द्र र एउटा अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरीरहेका छन् । इलाम अस्पताल इलाम , पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्र इलाम, फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र इलाम, प्याङ्ग प्राथमिक स्वास्थ्य केन्द्र इलाम र मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र इलामबाट सेवा प्रदान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार