नरेन इलामेली
माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा व्यवसायिक पशुपालन सम्बन्धी दिई दिने तालिम सम्पन्न भएको छ । जीवन विकास समाज नयाँबजारको आयोजनामा भएको सो तालिममा तीस भन्दा बढि किसानहरुको सहभागिता रहेको थियो ।
जीवन विकास समाजमा आवद्ध भएका किसानहरुलाई व्यवसायिक पशुपालन सम्बन्धि तालिम दिएर पशुजन्य उत्पादनका लागि आत्मनिर्भर बनाउने र आर्थिक उन्नतिका लागि प्रोत्साहन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जीवन विकास समाज नयाँबजारका शाखस प्रमुख निर्मल कुमार गच्छदारले बताए ।
तालिममा उन्नत जातका पशुको छनोट, व्यवस्थित गोठ निर्माण, पशुलाई आवश्यक खद्यान्न, पशुहरुमा लाग्ने रोगहरु, रोगहरुको रोकथाम र उपचार ,पशुको स्याहार र पशुलाई रोग लागेमा गर्न सकिने सामान्य उपचार , पशुजन्य उत्पादनको बजारीकरण सम्वन्धि जानकारी प्रदान गरिएको थियो।
ग्रामीण क्षेत्रमा यस्ता तालिमहरु निकै प्रभावकारी हुने तालिममा सहभागी किसान कृष्णबहादुर थापाले बताए। यस क्षेत्रका अधिकांश मानिसहरु पशुपालनमै निर्भर रहे पनि यस अघि कुनै पनि तालिमहरु आयोजना नभएको र जिवन विकास समाजको यो तालिमले हामीलाई धेरै सहज बनाएको छ। अधिकांश मानिसको आयस्रोत पशुपालन नै रहेकाले यस तालिमले पशुपालनलाई व्यवस्थित र प्रभावकारी बनाउन सकिने थापाको भनाई छ ।
तालिमले किसानहरुलाई पशुमा लाग्ने रोग पहिचान गर्न समेत सहयोग गरेको तालिममा सहभागी अर्का किसान बिमला थामीले बताइन। गाउँमा पशु प्राविधिकहरु नभएकाले पशुको रोगको लक्षण हेरी आफैले औषधी ल्याएर खुवाउन सकिने जसले आकस्मिक हुने पशुको मृत्यलाई समेत रोक्न सकिने थामीको भनाई छ।
इलामको माइजोगमाई १ प्रेमेजुङमा सम्पन्न सो तालिमलाई जीवन विकास समाज विराटनगरका पशु प्राविधिक सन्तकुमार माझीले सहजिकरण गरेका थिए ।