नयाँ बुलन्द
झापा : सुनसरीको इटहरीमा हालै सम्पन्न १२ औ अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगीतामा विभिन्न पदक प्राप्त गर्ने खेलाडीहरुलाई बुधबार दमकमा सम्मान गरिएको छ ।
दमकमा केन्द्रीय कार्यालय रहेको सगरमाथा मल्टिमार्शल संघबाट प्रतियोगीतामा सहभागी भएर स्वर्ण,रजत,कास्य पदक पाउने खेलाडीहरुसहित प्रशिक्षक, टिम कोच र मेनेजरलाई सामूहिक रुपमा सम्मान गरेको हो ।
दमकको डिलाईट होटलमा युकेमा रहेको सगरमाथा मल्टिमार्शल आर्ट डोजाङले एक कार्यक्रम गरि स्वर्ण पदक विजेता दिपक गुरुङ,पवित्रा धिमाल,रजत विजेता पूनम गुरुङ,अस्मिता राई,कुसुम लिम्बु,सुमन घिसीङ,एञ्जल बस्नेत,दिपक कटुवाल र काँस्यपदक विजेताहरु रेञ्चयाङ लिम्बु,निरोज चौहान र विरेन्द्र ऋषिदेवसहित सगरमाथा मल्टि मार्शल आर्ट संघका अध्यक्ष दिपक धिमाल,मेनेजर टिकादत्त पराजुली र टिम कोच उत्तम रिजाललाई सम्मान गरिएको थियो । सोहि अवसरमा यूकेको उक्त डोजाङले दमकको मार्शल आर्ट संघलाई करिव २ लाख ५० रुपैया मूल्य पर्ने खेलाडीहरु प्रतिष्पर्धाका लागि प्रयोग गरिने म्याट समेत हस्तान्तरण गरिएको थियो । सो सामाग्री डोजाङका सञ्चालक राष्ट्रकुमार राईले हस्तान्तरण गर्नुभएको थियो ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको त्यस सम्मान कार्यक्रममा उपप्रमुख गीता अधिकारी, निर्वतमान सांसद महेन्द्रकुमारी सुब्बा, वडा नम्बर ५ का वडाध्यक्ष इन्द्र गुरुङ, ८ का वडाध्यक्ष रामबहादुर धिमाल, ६ का वडाध्यक्ष टेकबहादुर थापा, खेलाडीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।