लिङ्देनलाई पहिलो गाँसमै ढुङ्गा भो प्रदेशसभा

नयाँ बुलन्द

काठमाडौं : लिम्बुवानमा क्रियाशील सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको प्रदेश सांसद् हुने योजना निर्वाचन आयोगले तुहाइदिएको छ ।

प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा थ्रेसहोल्ड समेत नकटाएको लिङ्देन नेतृत्वको मञ्चले प्रदेशसभातर्फ भने प्रत्यक्षमा कुनै सिट नजिते पनि समानुपातिकमा भने थ्रेसहोल्ड मत अर्थात १.५ प्रतिशत मत कटाएर एक जना स्वतन्त्र सांसद पाएको थियो ।

प्रत्यक्ष निर्वाचनमा बाजी मार्न नसकिने आँकलन गरेर लिङ्देनले आफ्नो नाम समानुपातिकतर्फको पहिलो नम्बरमै राखेका पनि थिए । तर, हाल प्राप्त एक सिट पनि उनलाई निर्वाचन आयोगले सांसद हुन नमिल्ने भन्दै किनारा लगाइदिएपछि यतिबेला उनी निक्कै तनावमा रहेका समाचार स्रोतहरुले जनाएका छन् ।

पार्टीभित्र लामो रस्साकस्सी झेलेर आफ्नो नाम निर्वाचन आयोगमा पठाउन सफल भएका लिङ्देनका लागि निर्वाचन आयोगको प्रावधान बाधक बनिदियो । उनको पार्टीले पाएको एक सिटमा आफूलाई नै सिफारिस गराउन सफल भएका लिङ्देनका लागि अन्ततः प्रदेशसभा १ को संसद् पहिलो गाँसमै ढुङ्गा साबित भएको सामाजिक सञ्जालहरुमा टिप्पणी आउन थालेका छन् ।

उसो त सामाजिक सञ्जालहरुमा यस अघि नै लिङ्देनलाई बधाइ दिनेहरु र उनलाई नै सांसद पठाउनुपर्छ भन्नेहरुको निक्कै घुँइचो लागेको थियो । धेरै समर्थकले लिङ्देन सांसद नभए पार्टी छाड्ने भन्दै फेसबुकमा लेखेका थिए । तर, निर्वाचन आयोगले भने उनै लिङ्देनको नाम अस्वीकृत गरी महिलालाई सिफारिस गरी पठाउन आग्रहसहित पत्राचार गरेपछि प्रदेश संसद्को ढोका यस पटकका उनका लागि बन्द भएको हो ।

लिङ्देनले आयोगमा पठाइएको नाममा त्रुटि भएकाले पुनः सच्याएर पठाइने भनी प्रतिक्रिया दिएका छन् । यसबाट पनि लिङ्देनको सांसद हुने सपनामा तुषारापात भएको हो । पार्टी उच्च स्रोतका अनुसार पार्टीकी नेतृ विष्णु तुम्बाहाम्फेको नाम सांसदमा पठाउने प्रक्रिया थालिएको छ । स्रोतका अनुसार तुम्बाहाम्फेले समानुपातिक सांसद हुनैका लागि पार्टीलाई ठूलो धनराशी सहयोग गरेकी थिइन् । उनले आफूलाई सांसद नबनाए पार्टीभित्र विद्रोह गर्नेसमेत चेतावनी दिएकी थिइन् ।

तुम्बाहाम्फेलाई प्रदेश सांसदको लट्री फसेपछि पार्टीभित्र लिङ्देन पक्षधर कार्यकर्ताहरु जिल्लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार