माङसेबुङ गापाको केन्द्र बहुमतले ‘चतुरे’ पारित, स्वागतसँगै विरोध सुरु

राम योङहाङ

इलाम : इलामको माङसेबुङ गाउँपालिकाको सेवाकेन्द्र जनप्रतिनिधिको बहुमतले ‘चतुरे’ बजार कायम भएको छ ।

लामो समयको विवादपछि मंगलबारको विशेष गाउँसभामा कायम रहेको सदस्य संख्याको बहमुतबाट सेवाकेन्द्र ‘चतुरे’ प्रस्ताव पारित गरेको हो । गाउँसभाका ३२ सदस्यमध्ये १८ मत वडा नम्बर ३ मा पर्ने ‘चतुरे’ को पक्षमा परेको थियो । त्यस्तै १४ मत वडा नम्बर २ मा पर्ने ‘साविक इभाङ’ को पक्षमा परेको थियो ।

६ वटा वडा रहेको गाउँपालिकाका गाउँसभामा ३४ सदस्य थिए । जसमध्ये एक जना जिल्ला समन्वय समितिमा निर्वाचित भएको र अध्यक्षले मतदानमा सहभागी नहुने व्यवस्था अनुसार ३२ जना मात्र मतदानमा सहभागी भएका थिए ।

गाउँपालिकाको सेवाकेन्द्र कहाँ राख्ने भन्ने विषयमा गाउँपालिकाका सदस्यहरू विभाजित भएका थिए । ‘चतुरे’ को पक्षमा केन्द्र राख्ने बहुमत भइसकेपछि गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगोले चतुरे केन्द्र कायम भएको घोषणा गरेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सेवाकेन्द्रको विवाद टुङ्ग्याईएको अध्यक्ष इधिङ्गोले बताए । सो ऐनको दफा ४ को उपदफा (३) मा ‘गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुईु तिहाई बहमुतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकार मार्फत नेपाल सरकारमा पठाउनु पर्नेछ’ उल्लखे छ ।

त्यस्तै दफा ४ को उपदफा (५) मा ‘यस दफामा अन्यत्र जुनसकै कुरा लेखिएको भएतापनि गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले छ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहमुतबाट प्रस्ताव पारित गरी एक पटकको लागि गाउँपालिका वा नगरपालिकाको नाम वा केद्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजिम नाम वा केन्द्र हेरफेर गर्नु पर्नेछ’ उल्लेख छ ।

सो ऐनले तोकेको अन्तिम दिन मंगलबार अबेर बहमुतबाट चतुरे प्रस्ताव पारित गरी एक पटकको लागि गाउँपालिका केद्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरि पठाउने निर्णय भएको अध्यक्ष इधिङ्गोले बताए । यसअघि स्थानीय तहको घोषणाका बेला राजपत्रमा प्रकाशित सूचनामा माङसेबुङ गाउँपालिकाको केन्द्र ‘साविक इभाङ’ उल्लेख छ ।

गाउँपालिकाको नाममा भने कुनै विवाद थिएन । किरात धर्मावलम्बीहरुको प्रमुख धार्मिक केन्द्र माङसेबुङको नामबाट गाउँपालिकाको नामाङ्करण गरिएको थियो । साविकका गजुरमुखी, इभाङ र बाँझो गाविस मिलाएर माङसेबुङ गाउँपालिका बनाईएको थियो ।

स्वागत र विरोध सँगसँगै

सेवाकेन्द्र ‘चतुरे’ कायम भएपछि सो क्षेत्रका बासिन्दाहरु हर्षित भएका छन् । उनीहरुले आफ्नो जित सबैका लागि जित भएको बताएका छन् ।

तर चतुरेका विपक्षमा उभिएका किरात धर्मावलम्बीहरुको प्रमसख धार्मिक स्थल माङसेबुङ लारुम्बाका बासिन्दाहरुले बहुमतबाट पारित निर्णयको विरोध जनाएका छन् । आफूहरुको खानेपानीको मुहान चतुरे भएको भन्दै त्यस क्षेत्रमा बस्ती विस्तारले खानेपानी प्रदुषित हुने उनीहरुको तर्क छ । खानेपानीको मुहानमा प्रदूषण हुने भन्दै सेवाकेन्द्र चतुरेबाहेक अन्यत्र सार्न सुझाव दिदैं आएका थिए ।

करिब १० हजारको संख्यामा रहेका त्यहाँका किरात धर्मावलम्बीहरुले प्रयोग गर्दै आएको ९ वटा खानोपनीको मुहान चतुरे बजारदेखि मुनी पर्दछ । सेवाकेन्द्र चतुरे कायम भएपछि आफूहरु विस्थापित हुने अवस्था आएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

‘यत्रो किरात धर्मावलम्बीहरुको बसोबास रहेको क्षेत्रका अमानेपानीलाई प्रदूषित पार्ने गरी निर्णय भएकोमा हामी दुखित छौं’ किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र सिंह लिम्बूले भने, ‘हाम्रो सुझावलाई जनप्रतिनिधिले वेवास्ता गरे । हज्जारौं नागरिकलाई खानेपानीको सुविधाबाट वञ्चित गराउने कोसिस भएको छ । यो नागरिकको पक्षमा भएन ।’

साथै किरात धर्मावलम्बीहरुले बहुमतले पारित सेवाकेन्द्र ‘चतुरे’ बदर गर्न माग गरेका छन् । उनीहरुले त्यसका लागि कानुन व्यवसायीहरुसँग समेत छलफल भईरहेको थेगिमले बताए । तत्काल समाधानको उपाय अपनाए पनि दीगो समाधान नभएको उनको बुझाई छ ।

कहाँबाट सुरु भयो विवाद ?

यसअघि जिल्लामा गठित स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले सर्वसम्मतिले माङसबेबुङ गाउँपालिकाको सेवाकेन्द्र ‘चतुरे’ भनी पठाएको थियो । तर स्थानीय तह घोषणा हुँदा गाउँपालिकाको केन्द्र ‘साविक इभाङ गाविस’ भनी राजपत्रमा प्रकाशित भएपछि सेवाकेन्द्रको विवाद सुरु भएको थियो ।

स्थानीय राजनैतिक दलहरुका समेत समर्थन ‘चतुरे’ थियो । तर धार्मिक क्षेत्रका बासिन्दाहरुले चतुरे बाहेकको विकल्प खोज्न जनप्रतिनिधिलाई सुझाव दिएका थिए । विकल्प नआएपछि उनीहरुले साविक इभाङलाई समर्थन जनाएका थिए ।

के हो माङसेबुङ (लारुम्बा) ?

माङसेबुङ (लारुम्बा) किरात धर्मावलम्बीहरुको प्रमुख आस्थाको केन्द्र हो । किरातीहरुको समाज सुधारक, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको अनुयायी तथा वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन र उनको भक्तजनको बसोबास रहेको सो क्षेत्र पृथक पहिचान बोकेको क्षेत्र हो ।

पूर्वी नेपालको इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने लारुम्बा क्षेत्र अहिले माङसेबुङ नामले परिचित हुँदै छ ।

करिब १५ सय बढी घरधुरी रहेको यहाँ मासु मङ्स, जाँड, रक्सी खाईन्दैन । दुई वर्ष अघिमात्र मासु मङ्स, जाँड, रक्सी निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको थियो ।

बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोट समेत सेवन गर्न निषेधित गरिएको स्थानीय माङ्गेना सेवा समितिका अधयक्ष केहरसिंह योङ्हाङ बताउँछन् । योङ्हाङका अनुसार त्यस क्षेत्रमा जताततै फोहोर गर्न, सुगुँर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँबासीलाई प्रतिबन्ध नै लगाईएको छ ।

किरात लिम्बू भाषाअनुसार माङ भनेको देवता (ईश्वर) र माङसेबुङ भनेको छानेको ठाउँ अर्थात देवता (इश्वर) ले छानेको ठाउँ भएको विश्वास सहित माङसेबुङ करिब दुइ दशक अघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको बताइन्छ । सोही समयदेखि किरात धर्म मान्नेहरुले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिन थालेका हुन् ।

बिषेश गरी लिम्बू समदायको बसोबास रहेको सो स्थान किरात धर्मगुरु मुहिङ्गगुम अङ्गसीमाङ्ग लिङ्गदेन आत्मनन्द सेइङ्ग (आत्मनन्द लिङ्गदेन) को कर्मथलोको रुपमा विकास गरिएको छ । वर्षेनी मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको शुभ जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रुपमा मनाईन्छ । जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख लगायत राष्ट्रिय व्यक्तित्वहरुको समेत उपस्थिती रहँदै आएको छ ।

दुई दशकदेखि धार्मिक स्थलको रुपमा विकास भएको माङसेबुङमा अहिले करिब १० हजार जनसंख्या रहेको छ भने यहाँ विशेष गरी गुरुको जन्मोत्सव र मंसिरे पूर्णिमा तथा बैशाखे पूर्णिमालाई विशेष पर्वका रुपमा मनाईने गरिन्छ ।

झापाको दमकदेखि करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर पुग्न सकिने माङसेबुङमा वर्षेनी राष्ट्रिय व्यक्तित्वहरुको उपस्थिती हुने भएपनि विकासको दृष्टिले निकै पछि रहेको छ । दमकस्थित रतुवाखोला हुँदै घर्ती दोभानबाट उकालो लाग्दा निकै कष्ट भएका् अनुभव हुन्छ । तर धार्मिक स्थल माङसेबुङ पुगिसकेपछि साँच्चे आनन्द महसुस हुने त्यहाँ पुग्नेहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार