संघीय समाजवादी फोरम इलामले तोक्यो स्थानीय तहको इन्चार्ज

नयाँ बुलन्द

इलाम : संघीय समाजवादी फोरम नेपाल जिल्ला समिति इलामले संगठन सुदृढीकरण अभियान सञ्‍चालन गर्ने भएको छ ।

जिल्ला अध्यक्ष कमल चाम्लिङको अध्यक्षता र केन्द्रीय सदस्य, लिम्बुवान प्रदेश सचिव तथा इलाम जिल्ला कार्यवाहक इन्चार्ज प्रेमदीप थाम्सुहाङको प्रमुख आतिथ्यतामा शनिबार बसेको बैठकले संगठन सुदृढीकरणका लागि विभिन्‍न निर्णय गरेको छ ।

बैठकले पार्टीलाई गतिशील बनाउन तथा संगठन निर्माण, पुनर्निर्माण र पुनर्संरचना गर्न जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटै स्थानीय तहको इन्चार्ज तोकेको छ ।

बैठकले इलाम नगरपालिका इन्चार्जमा पार्टीका उपाध्यक्ष बखतबहादुर आङदेम्बे, सुर्योदय नगरपालिका इन्चार्जमा जिल्ला सदस्य सुवास राई (चौरासे), देउमाई नगरपालिका इन्चार्जमा पार्टी सचिव यामप्रसाद लिम्बू र माई नगरपालिका इन्चार्जमा जिल्ला सदस्य बलबहादुर आङदेम्बेलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै सन्दकपुर गाउँपालिका इन्चार्जमा जिल्ला उपाध्यक्ष ढालबहादुर गुरुङ, माङसेबुङ गाउँपालिका इन्चार्जमा जिल्ला सहसचिव मणीविक्रम योङहाङ, चुलाचुली इन्चार्जमा जिल्ला सदस्य पञ्‍चबहादुर आङदेम्बे, फामफोकथुम इन्चार्जमा जिल्ला सदस्य धनसिंह राई, रोङ गाउँपालिका इन्चार्जमा जिल्ला सदस्य रञ्‍जित साम्पाङ र माइजोगमाइ गाउँपालिका इन्चार्जमा लासाङ तामाङलाई जिम्मेवारी दिइएको संघीय समाजवादी फोरम इलामका अध्यक्ष कमल चाम्लिङले जानकारी दिए ।

त्यस्तै बेठकले धनसिंह राईको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक समिति गठन गरेको छ । समितिका सदस्यहरुमा यामप्रसाद लिम्बू, लासाङ तामाङ, बसन्ता लिम्बू र लिलाबहादुर सुनुवार रहेका छन् ।

बैठकले विभिन्‍न जनवर्गीय संगठनहरु गठन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले किसन खजुम, आइतराज साम्बा, लक्ष्मी कार्की डोली र नरेन्द्र वनेमलाई जिल्ला सदस्यमा मनोनित समेत गरेको छ ।

यसैगरी बैठकले गत २१ मंसिरमा स्मपन्‍न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार