राष्ट्रपतिद्वारा राष्ट्रियसभा गठनको अध्यादेश प्रमाणिकरण

एकल संक्रमणीय प्रणाली अनुसार राष्ट्रियसभा गठन हुने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छन् । सरकारले कात्तिक १ गते पठाएको अध्यादेश राष्ट्रपति भण्डारीले शुक्रबार प्रमाणिकरण गरेकी हुन् ।

यससँगै अब राष्ट्रियसभा गठनको बाटो खुलेको छ भने दलहरुबिच लामो समयदेखि चलिरहेको राष्ट्रियसभा कि प्रतिनिधिसभाको गठन पहिले भन्ने विवाद पनि टुंगिएको छ ।

अब राष्ट्रियसभाको गठन एकल संक्रमणीय प्रणालीअनुसार हुनेछ । यसअघि एमालेले यो प्रणाली अमान्य हुने बताउँदै आएको थियो । एमालेले बहुमतीय प्रणाली अनुसार राष्ट्रियसभा गठन हुनुपर्ने एमालेको अडान थियो । अध्यादेशमा दलीय सहमति नभएको भन्दै राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी थिइनन् ।

अध्यादेश प्रमाणिकरण गर्नुअघि राष्ट्रपति भण्डारीले शुक्रबार प्रधानमन्त्री शेरवहादुर देउवा र एमाले नेता तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गसँग छलफल गरेकी थिइन् ।

अब कसरी गठन हुन्छ राष्ट्रियसभा ?

५९ सदस्यीय राष्ट्रियसभाका लागि ३ जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन्  । बाँकी ५६ मध्ये हरेक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभाका सदस्य चुनिनेछन् । जसमा महिला दलित र आदिवासी जनजातीको समाबेशी प्रतिनिधित्व गराउनुपर्ने कानूनी ब्यवस्था छ ।

एकल संक्रमणीय पद्धती भनेको प्राथमिकताका आधारमा मतदान गर्न पाउने विधी हो । यसमा महिला र खुलातर्फ प्राथमिकताका आधारमा एकभन्दा धेरै उम्मेद्वारलाई मतदान गर्न मिल्नेछ ।

राष्ट्रियसभाका सदस्य चुन्नका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसदहरुले भोट हाल्न पाउँछन् । जसमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ मानिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार