नयाँ बुलन्द
इलाम : इलाममा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा यो वर्ष आठ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ ।
यो वर्ष ५२ हजार आठ सय १६ मेट्रिक टन धान उत्पादन भएको छ । गत आवको तुलनामा इलाममा तीन हजार सात सय १६ मेट्रिकटनले बढी धान उत्पादन भएको हो । गत आवमा ४९ हजार एक सय मेट्रिक टन धान उत्पादन भएको थियो ।
यसवर्ष मौसमले राम्रो साथ नदिए पनि मलको अभाव नभएपछि धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय इलामका योजना अधिकृत प्रकाशमणि काफ्लेले बताए ।
जिल्लाका चुरे क्षेत्रहरु चुलाचुली, दानाबारी, महमाई, बाँझो लगायतका क्षेत्रमा धानको उत्पादन बढी हुने गरेको छ । काफ्लेका अनुसार जिल्लामा हर्दिनाथ १, राधा १२, मनसुली, मकवानपुर १, चिराँखे, भँगेरे, बेलगुठी जातका धान खेती गरिन्छ ।
यी क्षेत्रहरुबाट झापाका बजारहरुमा धानको निकासी हुँदै आएको छ । तर कति धान उक्त क्षेत्रबाट निकासी हुन्छ भन्ने तथ्याङ्क भने जिल्ला कृषि विकास कार्यालयसँग नभएको जनाइएको छ । यस वर्ष इलाममा १५ हजार नौ सय १५ हेक्टर जमिनमा धानखेती गरिएको थियो ।