नयाँ बुलन्द
झापा : झापाको दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरुको एक टोलीले आज यहाँको स्थलगत अवलोकन गरेको छ । औद्योगिक क्षेत्र अध्ययन गर्न आएको १२ सदस्यीय चिनियाँ टोलीले दिनभरि औद्योगिक क्षेत्र स्थलगत अध्ययन गर्नुका साथै सरोकारवालाहरुसंग अन्तरकृया समेत गरेको हो ।
ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको अध्ययन टोली दमक आएको हो । टोलीले चीन नेपाल यू ई इन्डस्ट्रियल पार्क निर्माणको समझदारीपत्र (एमओयू) बारे स्थानीय सरोकारवाला पक्ष, नगरपालिकाका प्रतिनिधिहरुसंग छलफल गरिएको औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिए ।
यसैवीच उक्त टोलीलाई दमक नगरपालिकाले विहान नगरपालिकामा एक कार्यक्रम गरि स्वागत गरेको छ । स्वागत कार्यक्रममा चिनिया अधिकारी लिउ रुपेङले दमकमा स्थापना हुने औद्योगिक क्षेत्रले नेपालको आर्थिक क्रान्तिलाई सघाउ पुर्याँउन चिन सरकार इच्छुक रहेको बताए । उनले भने ,–‘ यसले चीन र नेपालको सम्बन्धलाई लगानीको हिसाबले थप बलियो बन्ने छ ।’
त्यस कार्यक्रममा नेपालको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले अव यहाँ बनिने लागेको औद्योगिक क्षेत्र निर्माणको कार्यले तीव्रता पाउने दावी गरे ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले चीन सरकारले रु तीन खर्ब ३३ अर्बको लगानीमा औद्योगिक पार्क बनाइदिने सम्झौता यसअघि नै भइसकेको उल्लेख गर्नुहुदै अव ३ देखि ४ महिना भित्रमा यसको औपचारिक रुपमा शिलान्यास हुने जानकारी दिए । दाहालका अनुसार औद्योगिक पार्क बनाउन दमक नगरपालिकासहित छिमेकी कमल गाउँपालिका र गौरादह नगरपालिकाको करिव २२ सय बिघा जग्गा प्राप्तिको आवश्यक प्रक्रिया अघि बढेको छ ।
पार्क निर्माण समितिका अध्यक्ष थापाले औद्योगिक पार्कका लागि अहिलेसम्म ५ सय ४२ बिघा जग्गा प्राप्त भईसकेको र बाँकी जग्गा प्राप्तिको लागि अधिग्रहणको काम भइरहेको जानकारी दिए ।
यसैवीच चिनियाँ टोलीले मंगलबार र बुधबारनै काठमाण्डौमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उद्योग मन्त्री सुनीलबहादुर थापा, उद्योग सचिव यमकुमारी खतिवडा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलगायतका उच्च अधिकारीहरुसंग त्यस सम्बन्धी भेटघाट गरी छलफल गरेको थियो ।






















































