मन्त्रिपरिषद् बैठकः अशक्त बिरामीलाई मासिक पाँच हजार भत्ता

काठमाडौँ : सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक  पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

यसैगरी मन्त्रिपरिषदले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । मन्त्रालयकी प्रमुख विशेषज्ञ चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले नेपालको व्यवसायिक शिक्षा र तालिमका लागि विश्व बैंकले दिन लागेको ६ अर्ब २१ करोड ऋण स्वीकार्ने निर्णय पनि गरेको छ । यस्तै, काठमाडौं विश्वविद्यालयका लािग कोरिया सरकारले दिन लागेको १ अर्ब ४ करोड रुपैयाँ लिन स्वीकृति पनि प्रदान गरिएको छ ।

सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ । यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार