लोप हुँदै चौँरीपालन व्यवसाय

इलाम : जिल्लामा चौँरीपालन व्यवसाय लोप हुँदै गएको छ ।

इलाम र पाँचथरको सीमावर्ती तथा भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको सन्दकपुरमा विगत वर्षमा एक सयभन्दा बढी संख्यामा रहेका चौँरीका गोठ हाल करिब दुई दर्जनको हाराहारीमा मात्र रहेका छन् ।

व्यवसाय लोप हुँदै गए पनि पाँचथर प्राङ्बुङबाट चौँरी व्यवसाय गर्न आउनुभएका नरबहादुर मगर नयाँ तरिकाले चौँरी पाल्न सन्दकपुर आएको बताउँछन् । “यही पेशा नयाँ तरिकाले गर्न बसाइँ नै सरेर यहाँ आएको हुँ,” उनले भने ।

चौँरीको दूधबाट बनेको घिउ र छुर्पी गाई र भैँसीको भन्दा महँगो भएको मगरले बताए । पहिला-पहिला भारतको विभिन्न बजारमा बिक्री हुने घिउ र छुर्पी हिजोआज स्वदेशमै बिक्री वितरण हुने गरेको छ ।

यहाँ घिउ प्रतिकिलो रु ५०० र छुर्पी रु एक हजारमा बिक्री भइरहेको छ । छुर्पी अमेरिकासम्म निर्यात हुने गरेको छ । सो क्षेत्रका बासिन्दाको मुख्य पेशा नै चौँरी व्यवसाय हो ।

पन्ध्रवटा चौँरी पालेका मगर मासिक रु ३० हजारभन्दा बढी आम्दानी हुने गरेको बताउँछन् । चौँरी व्यवसायबाट पर्याप्त आम्दानी हुने गरेको भए पनि यस व्यवसायका विभिन्न चुनौती छन् ।

सामुदायिक वनमा चरन गर्न नपाइने भएका कारण व्यवसाय गर्न समस्या भएको किसान बताउँछन् । चौँरीलाई आवश्यक दाना र पोषणयुक्त खाना सो क्षेत्रसम्म पुर्याउन निकै कठिनाइ हुने गरेको छ ।

हरेक वर्ष वैशाख १ गते यहाँ चौँरी दिवस मनाइन्छ । लोप हुन लागेको चौँरी व्यवसाय बचाउन सो दिवस किसानका लागि फलदायक बन्दै गएको छ । सडक सुविधा हुन सके सो क्षेत्रको पर्यटन प्रवद्र्धन हुने र उक्त क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार