मालपोत कार्यालयमा बम विस्फोट, ३ घाइते

लहान : सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा शुक्रबार दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आएका सिरहा नगरपालिका-१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका-१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान रहेको सिरहाका प्रहरी नायब उपरीक्षक राजकुमार भेटवालले जानकारी दिए ।

बमको छर्रा लागेर गम्भीर घाइते भएका तीनैजनाको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले बताए ।

मालपोत कार्यालयका प्रमुखको कार्यकक्ष अगाडि रहेको सोफामुनि राखिएको प्रेसरकुकर बम शुक्रबार दिउँसो अचानक विस्फोट हुँदा कार्यालयको पर्खालमा क्षति पुगेको छ भने झ्यालका सिसासमेत फुटेका छन् ।

बम कसले र किन विस्फोट गराएको हो भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार