इलाममा ८८ वर्ष पुरानो जीर्ण भवनमा उपचार

इलाम : नेपाल-भारत सीमावर्ती क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा दिन ८८ वर्षअघि खुलेको इलाका स्वास्थ्य केन्द्र पशुपतिनगर अहिले आफैं बिरामीजस्तो बनेको छ। यो केन्द्र राणाकालमा १९८६ सालमा खुलको थियो। त्यसबेला भारतको पर्यटकीय क्षेत्र दार्जि्लिङका मानिस पनि उपचार गर्न पशुपतिनगर आउँथे तर अहिले अवस्था ठीक उल्टो भएको छ। यताका मानिस स्वास्थ्य केन्द्रको सट्टा पारि भारततिरै जान इच्छा गर्छन्। पशुपतिनगरका मिलन क्षत्री प्रतिप्रश्न गर्दै भन्छन्, ‘हेर्दै ढल्न लागेको भवन छ। बिजुली हुँदैन। चिकित्सकले मोबाइल र टर्च बालेर उपचार गर्छन् यस्तो देख्दादेख्दै कसरी उपचार गर्न जानु ? ’ जीर्ण भवन देखेरै धेरैजसो बिरामी भारत जाने गरेको क्षत्रीले बताए।

पहिले स्वास्थ्य केन्द्रबाट पूर्वीइलामका दर्जनौं गाउँका बासिन्दालाई उपचार सेवा पाएका थिए। हाल सूर्योदय नगरपालिका, अन्तु, समाल्बुङ, फिक्कल, पशुपतिनगर, गोर्खेलगायत क्षेत्रका मानिसले उपचार गर्ने थलो यही केन्द्र थियो। तर, हिजोआज भने स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार निर्माणको काम पूरा हुन नसकेका कारण मानिस निकै पातलो गरी आउन थालेको रुङ्गसुङकी स्थानीय इन्दिरा खतिवडाले बताइन्। उनले भनिन्, ‘नयाँ भवन र नयाँ स्वास्थ्य सुविधा नदिने हो भने बिरामी उपचार गर्न आउँदैनन्।’

स्वास्थ्य केन्द्रमा नयाँ भवन निर्माणको काम थालिए पनि पूरा हुन सकेको छैन। अहिले पनि पुरानै भवनमा उपचार सेवा सञ्चालन भइरहेको छ। स्वास्थय केन्द्रका प्रमुख चिकित्सक दिवस सुनुवार भन्छन्, ‘पहाडमा बिजुली नहुँदा हामीले टर्च लाइट र मोबाइल बालेर उपचार गर्नुपर्ने बाध्यता छ। जेनेरेटर चलाउने व्यवस्था छैन।’ भवन निर्माणको काम समयमै पूरा गर्न दबाब दिँदा पनि अघि नबढेको उनले बताए। जीर्ण भवनमा ओपेडीदेखि बर्थिङ सेन्टर, बिमा फार्मेसीलगायत काम सञ्चालन गर्न कठिनाइ भएको छ। चिकित्सक र कर्मचारी बस्ने आवासगृहको अभाव छ।

सुरु भएको पाँच वर्ष बितिसक्दा पनि भवन निर्माणको काम सम्पन्न नहुँदा सीमावर्ती क्षेत्रका बासिन्दालाई समस्या भएको हो। भवन निर्माणमा ठेक्का पाएको मिलेनियम देव एन्ड सायर कम्पनीले भने काम गरेको रकम नपाएकाले थप काम अघि बढ्न नसकेको जनाएको छ।०६९ जेठ ११ गते क्वार्टरसहितको अस्पताल भवन निर्माणका लागि ठेकेदार पक्षसँग सम्झौता भएको थियो। ०७० भदौमा सम्पन्न भइसक्नुपर्ने भवन अझै बनेको छैन। ०७३ पुस ३० गतेसम्म म्याद थप गर्दा पनि भवनको काम पूरा भएन। सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत निर्माणाधीन यो भवनको काम चैतसम्म पूरा गर्न फेरि म्याद थप भएको छ।

पुरानो भवनको स्वास्थ्यकर्मी र कर्मचारी बस्ने स्थान जीर्ण छ। सेवाग्राहीका लागि पनि पर्याप्त स्थान छैन। अत्यावश्यक उपकरण राख्ने ठाउँ नहुँदा धेरै सामान अलपत्र अवस्थामा छन्। पहिले दैनिक दुई सय जनासम्म बिरामी उपचार गर्न आउने गरेकामा अहिले ४०÷५० जना आउने गरेका छन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद राईले भने, ‘भवन नबनिएकै कारण यहाँका बासिन्दासँगै सबैले समस्या झेल्नुपरेको हो।’

निर्माण कम्पनीका प्रमुख डम्बर गदालले भने, ‘भवन निर्माण गर्नुपर्ने स्थानमा रहेको विद्युत् प्रसारण लाइन हटाउन मात्रै ३१ महिना लाग्यो। अरू काम कसरी अघि बढाउने ? ’ सामान बोक्ने ट्रक गुड्ने सडक नहुनु, अत्यधिक चिसोका कारण हिउँदमा काम गर्न कठिन हुनु, भूकम्प र राजनीतिक उतारचढावका कारण पनि ढिलो भएको उनले बताए। अवरोध जान्दाजान्दै सरकारले रकम नदिनुले थप समस्या भएको उनको गुनासो थियो। ठेकेदार कम्पनीले प्राप्त गर्नुपर्ने डेढ करोड रुपैयाँमध्ये करिब ७० लाखको काम भएको बताइएको छ।

साभार अन्नपूर्ण बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार