नयाँ बुलन्द
झापा : झापाको दमक–४ स्थित त्रिपुरेश्वर शिवमन्दिरमा सञ्चालित महायज्ञबाट करिव १९ लाख रुपैया संकलन भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलक थापाको अध्यक्षतामा सम्पन्न बैठकले महायज्ञबाट संकलित सहयोगको कुल यथार्थ आय–व्यय सार्वजनिक गर्ने निर्णय भएको मन्दिरका उपाध्यक्ष तथा गठित प्रचार समितिका संयोजक पूण्यप्रसाद खनालले बताए । महायज्ञबाट १८ लाख ९४ हजार ४ सय ३५ सहयोग प्राप्त भएको र त्यसमध्ये ७ लाख १० हजार २ सय ८२ रुपैया खर्च भई कुल ११ लाख ८४ हजार १ सय ५३ रुपैया बचत भएको उपाध्यक्ष खनालले जानकारी दिए ।
गत मंसिर ९ गतेदेखि १७ गतेसम्म मन्दिर परिसरमा श्रीमद्भागवत धानयाञ्चल ज्ञानमहायज्ञ सम्पन्न भएको थियो । महायज्ञबाट संकलित सहयोगले धर्मशाला भवन निर्माणसंगै अक्षय कोषमा जम्मा गरिने जनाईएको छ । महायज्ञमा आचार्य पण्डित विवेक गुरागाई मुख्य कथावाचक रहेका थिए ।






















































