बामदेवलाई राष्ट्रियसभा चुनाव लडाएर संसदमा ल्याउने एमालेको तयारी

काठमाडौं : वर्दिया–१ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्दा ८ सय मतले पराजित एमालेका नेता बामदेव गौतमलाई पुनः राष्ट्रियसभा सदस्यको चुनाव लडाएर संघीय संसदमा ल्याउने तयारी गरिएको छ ।

बामदेव गौतम कांग्रेस उम्मेदवार सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । बामदेवको मत ४४ हजार ७६ थियो भने सञ्जयकुमारले ४४ हजार ८ सय २९ मत ल्याएका थिए । बाम गठबन्धनका मुख्य योजनाकार बामदेव नै पराजित भएपछि उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एमालेभित्र छलफल भइरहेको स्रोतले जनाएको छ ।

बामदेवलाई संसदमा ल्याउने हो भने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठ्न सक्छ ।

बामदेव संसदमा नहुँदा पार्टी एकता नै भाँडिन सक्ने ठहर गर्दै हाल उनलाई राष्ट्रियसभाको चुनावमा उम्मेदवार बनाएर जिताएर संसदमा ल्याउनुपर्ने विषयमा छलफल चलिरहेको स्रोतको दाबी छ ।

संविधानअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनसहितको एक संघीय व्यवस्थापिका संसद गठन हुनेछ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचनपछि अब निर्वाचन आयोगले ५९ सदस्यीय राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने छ ।

राष्ट्रियसभा सदस्यका लागि हरेक प्रदेशबाट ८ जना निर्वाचित हुनेछन् भने सरकारको सिफारिसमा राष्ट्रपतिले तीनजना सदस्य मनोनयन गर्ने व्यवस्था छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मात्रै मतदाता हुनेछन् ।

तर राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेशमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भइसकेको व्यक्ति उम्मेदवार हुन पाउने वा नपाउने भन्ने विषय यकिन भएको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशमार्फत कानून ल्याएर राष्ट्रियसभाको निर्वाचन गर्नका लागि यसअघि नै राष्ट्रपति कार्यालयमा अध्यादेश पेस गरिसकेका छन् ।

तर राष्ट्रपति विद्यादेवी भण्डारीले भने अध्यादेश अनुमोदन गरेकी छैनन् ।

निर्वाचन प्रणालीबारे एमाले–माओवादी र नेपाली कांग्रेस पक्षबीच मतभिन्नता रहेकाले राष्ट्रपति भण्डारीले एमाले–माओवादीको लाइनअनुसार अध्यादेश कायम गर्नका लागि देउवालाई दबाब दिइरहेको बुझिएको छ ।

एमालेले प्रतिनिधिसभा सदस्यको चुनावमा हारेका बामदेवलाई संसदमा ल्याउने हो भने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठ्न सक्छ ।

श्रेष्ठ नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईसँग पराजित भएका हुन् । बाम गठबन्धन र पार्टी एकताका सुत्रधारमध्ये माओवादी केन्द्रबाट श्रेष्ठ पहिलो व्यक्ति थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार