मोरङ : कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ ।
कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेका छन् । एमाले नेता लालबाबु पण्डितले उनलाई पराजित गरेका हुन् ।
केहिबेरअघि सम्पन्न मतगणनाअनुसार लालबाबुले ६७५ मतान्तरको जित हासिल गरेका छन् । लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाएका छन् ।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै सांसद पण्डितले मुलुक अव समृद्दिको बाटोमा अघि बढ्ने र देशले मुहार फेर्ने अपेक्षा व्यक्त गरे । साथै सबैलार्इ समेटेर अाफ्नो क्षेत्रको विकास गर्ने उनले प्रतिबद्दता व्यक्त गरे ।
नेकपा एमालेका चर्चित नेता हुन् लालबाबु पण्डित । सर्लाहीमा जन्मेर मोरङलाई कर्मथलो बनाएका नेता पण्डित मजदुर एवं ट्रेड युनियन पृष्ठभूमिबाट एमालेको नीति निर्माण तहमा पुगेका नेता हुन् ।
विशेष गरी ०५१ साल र ०५६ सालको प्रतिनिधिसभाका सांसद रहेका पण्डित सामान्य प्रशासन मन्त्री बनेपछि ह्वात्तै चर्चामा आए ।
सामान्य प्रशासन मन्त्री भएका बेला भ्रष्टाचारको विरोध गर्नुका साथै डीभीरपीआर लिएका कर्मचारीलाई सरकारी सेवाबाट हटाउने अभियानका कारण उनी चर्चित बने । उनकै कारण डीभी होल्डर सरकारी कर्मचारीले जागिर खान नपाउने कानूनी व्यवस्था प्रारम्भ भयो ।