सुजता सुनुवार
इलाम : मंसिर २१ गते हुने चुनावका लागि पूर्वसभामुख सुवास चन्द्र नेम्वाङले उम्मेदवारी दिएका इलाम क्षेत्र नम्बर २ मा धेरैको ध्यान तानिएको छ । पूर्वसभामुख नेम्वाङ र पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापाबिच दोस्रो पटक चुनावी प्रतिस्पर्धा हुन लागेको हो ।
यस क्षेत्रमा दुई उम्मेदवारले फरक फरक एजेण्डा लिएर मतदातासँग मत माग्न गएपछि चुनावको दिन नजिकिँदै जाँदा उम्मेदवारको एजेण्डाका बारेमा समेत चर्चा बढ्दै गएको छ । यहाँ यसअघि पनि नेपाली कांग्रेस र नेकपा एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको थियो ।
फेरि यसपटकको चुनावमा बाम गठबन्धनबाट उम्मेदवार हुनु भएका पूर्वसभामुख तथा एमाले नेता नेम्वाङ र पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता थापा चुनावी प्रतिस्पर्धामा उत्रिएपछि धेरैको चासो यस क्षेत्रमा परेको हो । पछिल्लो समयमा उम्मेदवारले ल्याएको एजेण्डाका बारेमा समेत यो क्षेत्रका मतदाताबिच चर्चाको विषय बनेको छ ।
उमेरले ६५ वर्ष पगेका एमालेका उम्मेदवार नेम्वाङले मतदातामाझ आफूलाई नयाँ संविधान कार्यान्वयन गराउने देवदूतका रुपमा उभ्याउनु भएको छ । उनले अबको नयाँ संविधानले भौतिक, सामाजिक, आर्थिक सबै क्षेत्रको विकासलाई चुलीमा पुर्याभउने भन्दै आफू वाम गठबन्धनको नेतृत्वको खम्बा रहेको बताउँछन् ।नेम्वाङ भन्छन्, ‘स्थानीय बासिन्दालाई आफ्नो अधिकारका बारेमा सूचित गराउन नयाँ संविधान कार्यान्वयन गर्नुपर्छ, मेरो उम्मेदवारी अधिनायकवाद लाद्न खोज्नेलाईखबरदारी गर्ने व्यक्तिका रुपमा हुनेछ । म पहिला नयाँ संविधान कार्यान्वयन गर्छु, अनि पाँच वर्षसम्म देश सञ्चालन गरेर नेपाललाई एक सम्वृद्ध देशमा रुपान्तरण गर्छुु ।’ उनले देशलाई संविधान विपरित बाटोबाट जान रोक्न विशेष परिस्थितिमा आफू इलाममा उम्मेदवार भएर आएको बताए ।
यता नेपाली कांग्रेसका उम्मेदवार ५७ वर्षका केशव थापाले भने आफ्नो उम्मेद्वारी इलामको विकासका लागि भएको बताउँछन् । थापा यसअघिको चुनावमा दुईपटक विजयी भइसकेका छन् । उनले भने,‘अधिकांश समय इलामको विकासमा बिताएको छु । जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको ट्याङ्की बनाएर सहयोग गरेको छु । इलाम नगरपालिका तीनमा कच्ची नै भए पनि यातायात सुविधाका लागि बाटोमा सहयोग गरेको छु । अन्य स्थानमा शिक्षा, बिजुली लगायतका क्षेत्रमा पनि काम गरेको छु ।’ अबको पाँचवर्षमा इलामलाई चौतर्फी विकास गर्ने एजेण्डा बोकेर विकास निर्माणका लागि काम गर्ने प्रतिवद्धता जनाउँदै थापा मतदाता माझ पुगेका छन् । नामको होइन कामको हेभिवेट बन्नुपर्ने उनको भनाई छ ।
नेम्वाङका लागि चुनौती
२०५६ सालको प्रतिनिधिसभा सदस्य चुनावमा नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । थापा भने क्षेत्र नं ३ बाट थिए ।
२०५६ मा नेम्वाङ क्षेत्र नं. २ बाट कांग्रेस नेता कुलबहादुर गुरुङलाई पराजित गर्दै विजयी बनेका थिए । २०७० सालको चुनावमा भने थापाले जिल्लाको क्षेत्र नं. ३ बाट एमालेका टेकबहादुर राईलाई पराजित गर्दै विजय हाँसिल गरेका थिए । त्यतिबेला सांसद भएपछि थापाले आफ्नो क्षेत्रमा सक्दो विकासको काम गरेका थिए । नागरिकमाझ बोले जतिका काम गरेर देखाएका कारण सच्चावादी नेता भनेर परिचित बनेका छन् । उनी त्यही समयमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री पनि बनको थिए ।
२०७० सालमा इलाम क्षेत्र नं ३ बाट विजयी बनका थापा सिङ्गो जिल्लाबाटै सबैभन्दा बढी मतान्तरले जित्ने उम्मेदवार छन् । उनी एमालेका टेकबहादुर राईलाई २ हजार १६३ मतले हराउँदै विजयी बनका थिए । थापाले १५ हजार ८६८ मत ल्याएका थिए । राईले भने १३ हजार ७०५ मत प्राप्त गरेका थिए ।
त्यही क्षेत्रमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मा रमणले ३ हजार ७४५ मत ल्याएका थिए । शर्मा अहिले वाम गठबन्धनबाट इलाम क्षेत्र नम्बर २ को ‘२’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन् ।
मतदातामाझ विकासप्रेमी नेताका रुपमा चिनिएका थापा स्थानीय बासिन्दाका लागि लोकप्रीय छन् । यस क्षेत्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट युुवा नेता दीपककुमार योङहाङ्ग उम्मेदवार छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा (केपी) इलाम २ मा जनजाति मतदाताको बसोबास बढी छ । स्थानीय चुनावमा १÷१ वटा वडामा मञ्चले प्यानलसहित विजय हासिल गरेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीमा आस्था राख्ने मतदाताबाट मतको जोडघटाउ हुने पक्का छ । वाम गठबन्धनका कारण केही बलियो मानिए पनि नेम्वाङलाई केही चुनौती थपिएको छ ।






















































