निरज माबोहाङ
माङसेबुङ : इलामको माङसेबुङमा जारी आत्मानन्द रनिङ गोल्डकपको सोमबारको खेलमा लेटाङ फूटबलक्लब मोरङ विजयी भएको छ । अर्जुनधारा फूटबल क्लब झापालाई १-० को झिनो अन्तरले पराजित गर्दै लेटाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
प्रतियोगिता अन्तरगत मंगलबार सगरमाथा क्लब मोरङ र एफसी झापाबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता टिमले नगद एक लाख पाँच हजार ६४ र उपविजेता टिमले ७५ हजार ६४ रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन् । स्थानीय माङसेबुङ खेलमैदानमा हुने प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेन लिङदेनको ६४ औँ जन्मोत्सवको अवसरमा १८ मसिंरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सहभागि टिमलाई आयोजकले खान र बस्नका लागि आयोजकले व्यवस्था मिलाएको जनाईएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख खर्च लाग्नेछ । त्यसका लागि भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट संकलन गरिने आयोजक किरात धर्म खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।
किरात धर्मावलम्बीहरुको प्रमुख धार्मिक स्थलको रुपमा रहेको माङसेबुङमा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा ०६५ देखि बर्सेनि गोल्डकप सञ्चालन हुँदै आएको छ । लिङदेनको जन्मोत्सवमा राष्ट्रका प्रतिष्ठित व्यक्तिहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधिस, पार्टीका नेता तथा मन्त्रीहरुको उपस्थिती रहने गरेको छ ।