आत्मानन्द गोल्डकप सुरु, रेडहर्षको विजयी सुरुवात

नयाँ बुलन्द

माङसेबुङ : आत्मानन्द रनिङ गोल्डकपको १० औं संस्करण इलामको माङसेबुङमा सुरु भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६४ औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकपको उद्घाटन नेपाली कांग्रेस इलामका सचिव एवम् प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर २ को (२) का उम्मेद्वार खगेन्द्र देवानले गरेका थिए । उनले आयोजकलाई नगद ५२ हजार रुपैयाँ समेत उपलब्ध गराएका थिए ।

यसैबीच शनिबारको उद्घाटन खेलमा रेडहर्ष इलाम विजयी भएकाे छ । सप्तकोशी क्लब सुनसरीलाई १-० को झिनो अन्तरले पाखा लगाउँदै रेडहर्ष विजयी बनेको हो । जितका लागि रेडहर्षका मनिस थापाले एक मात्र निर्णायक गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच पनि थापा नै घोषित भए ।

प्रतियोगिता अन्तरगत सोमबार लेटाङ क्लब मोरङ र एएफसी अर्जुनधाराबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पूर्वका इलाम, झापा, पाँचथर, मोरङ र सुनसरीका चर्चित आठ टीमको सहभागिता छ । प्रतियोगितामा सप्तकोशी फूटबल क्लब सुनसरी, रेडहर्ष क्लब इलाम, लेटाङ फूटबल क्लब मोरङ, सगरमाथा क्लब मोरङ, सर्वोत्तममुखी यासोक, एएफसी अर्जुनधारा, एपीएफ झापा र विविएफसी दमकको सहभागिता छ ।

प्रतियोगिताका विजेता टिमले नगद एक लाख पाँच हजार ६४ र उपविजेता टिमले ७५ हजार ६४ रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन् । स्थानीय माङसेबुङ खेलमैदानमा हुने प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेन लिङदेनको ६४ औँ जन्मोत्सवको अवसरमा १८ मसिंरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सहभागि टिमलाई आयोजकले खान र बस्नका लागि आयोजकले व्यवस्था मिलाएको जनाईएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब १२ लाख खर्च लाग्नेछ । त्यसका लागि भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट संकलन गरिने आयोजक किरात धर्म खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

किरात धर्मावलम्बीहरुको प्रमुख धार्मिक स्थलको रुपमा रहेको माङसेबुङमा धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा ०६५ देखि बर्सेनि गोल्डकप सञ्चालन हुँदै आएको छ । लिङदेनको जन्मोत्सवमा राष्ट्रका प्रतिष्ठित व्यक्तिहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधिस, पार्टीका नेता तथा मन्त्रीहरुको उपस्थिती रहने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार