ताप्लेजुङ : ताप्लेजुङको निजी वनबाट वार्षिक १६ करोड बढीको आम्दानी प्राप्त हुने गरेको जिल्ला वन कार्यालयले बताएको छ । गएको आर्थिक वर्षमा ३ लाख ५० हजार क्युफिट काठ निकासी भएको र प्रतिक्युफिट ५ सय रुपैयाँका दरले मात्रै हिसाब गर्ने हो भने १६ करोड बढी रकम निजी वनधनीले आम्दानी गरेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिए ।
पारिवारिक निजी वन संघ ताप्लेजुङको प्रथम जिल्ला अधिवेशनका अवसरमा बोल्दै घिमिरेले निजी वनधनीहरू संगठित हँुदै जानु अत्यन्तै राम्रोे भएको बताए । उनले आफूहरूले खोजिरहेको साथी बल्ल भेटेको भन्दै निजी वन क्षेत्रसँग मिलेर सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाए । घिमिरेका अनुसार यहाँ २५ वटा मात्र निजी वन जिल्ला वन कार्यालयमा दर्ता भएका छन् ।
यीमध्ये १० वटा त एकै व्यक्तिको मात्र रहेको जिल्ला वन कार्यालयले बताएको छ । पारिवारिक निजी वन संघको प्रथम जिल्ला अधिवेशनले इन्द्रबहादुर गुरुङको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा रबिन भट्टराई, उपसचिवमा वसन्त पालुंवा र कोषाध्यक्षमा गणेशकुमार श्रेष्ठ छन् ।
पहिलोपटक गठन भएको समिति भएका कारण पारिवारिक निजी वन संघमा आबद्ध हुने आकांक्षी बढी देखिएको संघले जनाएको छ । पारिवारिक निजी वन संघका केन्द्रीय महासचिव पीताम्बर सिग्देलका अनुसार ताप्लेजुङ पारिवारिक निजी वन संघको ३६औँ शाखा हो ।
उनले यो वर्षभित्र देशभरका ७७ जिल्लामा नै शाखा विस्तार गरी सदस्य संख्या बढाउने योजना रहेको बताए । उनले पारिवारिक निजी वन संघ गठनको उदेश्य र यसको विशेषताबारे जानकारी गराएका थिए ।
आफ्नो निजी जग्गामा कम्तीमा ६० वटासम्म रुख झांगिएको र यसको संरक्षण गर्दै अरू रुखबिरुवा बढाउने योजनामा रहेका निजी वनधनी यसका सदस्य बन्नसक्ने भएका छन् । नवनिर्वाचित अध्यक्ष गुरुङले अरू सदस्यहरूलाई पनि आबद्ध गर्दै संगठन दरिलो बनाउने योजना सुनाए । कार्यक्रमका प्रमुख अतिथि रहेका फुङलिङ नगर प्रमुख छत्रपति प्याकुरेलले स्थानीय सरकार पारिवारिक निजी वन संघ मिलेर कार्य गर्न तयार रहेको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवणकुमार पोखरेलले पारिवारिक निजी वन संघको अवधारणा नेपालमै नौलो भएको भन्दै यसलाई प्रवद्र्धन गर्न खाँचो रहेको बताए । कार्यक्रममा ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका उपाध्यक्ष रमेश बराललगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

























































