पाँचथर : जिल्लाका दुग्ध उत्पादक कृषक स्थानीय जातकै गाई–भैँसीमा निर्भर रहेका छन् । उन्नत जातका गाई–भैंसीले स्थानीयको तुलनामा धेरै दुग्ध दिने भए पनि अधिकांश कृषकका गोठमा स्थानीय जातकै गाई–भैंसी भेटिने गरेको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार अहिले जिल्लामा ९९ हजार २ सय ७४ स्थानीय गाई छन् । तीमध्ये ३१ हजार ५ सय दुहुनो छन् ।
तर उन्नत जातका गाई भने ५ हजार ८ सय ७२ मात्र छन् । तीमध्ये २ हजार ८ सय ५४ दुहुनो छन् । कार्यालयका पशुसेवा प्राविधिक निरज भट्टराईका अनुसार उन्नत जातको गाईले प्रत्येक दिन औसतमा ७ दशमलव ११ लिटर दूध दिन्छ । तर, स्थानीय जातको गाईले प्रत्येक दिन औसत १ दशमलव ८७ लिटर मात्र दूध दिन्छ ।
त्यस्तै, उन्नत जातको भैँसीले हरेक दिन औसतमा ५ दशमलव ६ लिटर दूध दिन्छ । स्थानीय जातको भैंसीले भने हेरक दिन औसत ३ दशमलव २ लिटर मात्र दुग्ध दिने पशुसेवा प्राविधिक भट्टराईले बताए । यसरी हेर्दा उन्नत जातको गाई तथा भैंसी पालनबाट बढी दूध उत्पादन भई आम्दानी लिन सकिने भए पनि जिल्लाका कृषकले उन्नत जातका गाईभैँसी भित्र्याउँन सकिरहेका छैनन् ।
जिल्लामा केही अगुवा दूध उत्पादक कृषक र सहकारी संस्थाहरूले थोरै मात्रामा उन्नत जातका गाईभैँसी पालन गरिरहेको पाइन्छ । अधिकांश कृषकले स्थानीय जातकै गाई–भैंसी पालिरहेका छन् । जिल्लामा उन्नत जातका गाईमा हेलिस्टेन र जर्सी त्यस्तै उन्नत भैंसीमा मुर्रा जातको पालन भइरहेको पशुसेवा कार्यालयले जनाएको छ ।
दूध उत्पादक कृषकहरूमा व्यवसायिक ज्ञान र सीपको अभावले गर्दा जिल्लामा उन्नत जातका गाईभैँसी पालनमा कमी देखिएको फाल्गुनन्द गाउँपालिका–२, का पशुसेवा प्राविधिक पुनम लिम्बूले बताइन् । कृषकलाई उन्नत जातका पशुपालनमा अग्रसर गराउँन यस सम्बन्धि चेतनामूलक अभियान सञ्चालन गर्न आवस्यक रहेको लिम्बूको भनाइ छ ।
उन्नत जातका गाई तथा भैैँसी जिल्ला बाहिरबाट ल्याउँनुपर्ने र त्यो झन्झटिलो भएकाले चाहेर पनि पालन गर्न नसकिएको कृषक बताउँछन् । जिल्ला बाहिरबाट गाडि मार्फत ल्याउँदा जोखिम मोल्नुपर्ने र निकै झन्झटिलो समेत हुने भएकाले सोच भएर पनि ल्याउँन नसकिरहेको फिदिम नगरपालिका–६, सिवाका कृषक भीमबहादुर तुम्रोकले बताए । उन्नत जातका गाई तथा भैंसी गाउँसम्म ल्याउन सहज वातावरण बने धेरैले पालन गर्नेसमेत उनले बताए ।
पशुसेवा कार्यालयको तथ्यांकअनुसार उत्पादित दूधमध्ये पनि ठूलो परिणाममा दूध बजारसम्म नपुग्ने गरेको देखिएको छ । गत आर्थिक वर्षमा जिल्लामा गाई, भैँसी र चार सय १३ चौरीसमेत गरी ३ करोड ७९ लाख ९४ लिटर दुग्ध उत्पादन भएको थियो । तर, ४० लाख ३७ हजार ४० लिटर दूध मात्र बजारसम्म पुगेको कार्यालयको तथ्यांकले देखाएको छ ।
जिल्लामा दुग्ध विकास संस्थान (डिडिसी) र ३४ डेरी उद्योग, पाँच दुग्ध बिक्री केन्द्र त्यस्तै २५ सहकारीमार्फत उत्पादित दूध खपत हुँदै आएको छ । तर, ठूलो परिणामको दूध भने ग्रामीणस्तरमा खोलिएका साना डेरीहरू र घरेलु रूपमै घिउ बनाएर कृषकले बिक्री गर्ने गरेको पाइएको छ । बढी दूध उत्पादनका लागि पाँचथर पशुसेवा कार्यालयले पशुमा नस्लसुधार कार्यक्रम प्रभावकारी ढङबाट किसानहरूलाई सेवा दिइरहेको अनुभवी प्राविधिक पुष्प नेपालीले जनाए । सौर्य दैनिकमा खबर छ ।