नयाँ बुलन्द
झापा : पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद योङया एक दशक पछि झापाको एक कार्यक्रमका बीच सार्वजनिक हुने भएका छन् । अरुण पूर्वका ९ जिल्ला स्वतन्त्र लिम्बुवान राज्यको माग गर्दें आएको सो संगठनलाई सरकारले धरपकड गर्न थालेपछि अध्यक्ष योङया करिव १० वर्षदेखि भारतको दार्जिलिङमा बस्दै आएका छन् ।
मञ्चले जिल्लाको शिवसतासी नगरपालिकाको दुधेमा यहि कातिक ३० गते भव्य कार्यक्रम गरि आफना अध्यक्ष योङयालाई सार्वजनिक गर्न लागेका हुन् । मञ्चले शनिवार दमकमा पत्रकार सम्मेलन आफना मुद्या संयुक्त राष्ट्रसंघमा विचाराधीन रहेको र आफनो स्वतन्त्र अधिकारलाई सम्मान गर्न अध्यक्ष योङयालाई सार्वजनिक गर्न लागिएको केन्द्रीय सदस्य ज्ञानेन्द्र राईले बताए । देशको संविधानप्रति यहाँका आदिवासी,जनजाति, उत्पीडित समुदायहरु उपेक्षित हुनुपरेको मञ्चका केन्द्रीय सदस्य राईले बताए ।
२०६४ साल बैशाख ९ गते प्रशासनले दमकसहित विभिन्न स्थानहरुबाट मञ्चका २९ जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका सवैलाई प्रशासनले राजद्रोहको अभियोग लगाएको थियो । उनीहरु ९ महिना पछि पूनरावेदन अदालतको आदेशबाट रिहा भएका थिए ।
प्रशासनले फेरि पनि धरपकड गर्ला नी ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा नेता राईले शान्तिपूर्ण सभामा राज्यले धरपकड गर्न नमिल्ने स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा मञ्चका केन्द्रीय सदस्य राजकुमार आङदेम्बे ,धनसिंह आङदेम्बे, पाँचथर जिल्ला सदस्य मनकु्मार आङदेम्बेलगायतको उपस्थिति रहेको थियो ।