
नयाँ बुलन्द
झापा : दमकको दुई स्थानबाट प्रहरीले अवैध सखुवाको काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार प्रहरीको बिशेष टोलीले दमक–३ को ढुकरपानी र दमक–७ को हाटखोला भन्ने स्थानबाट करिव १३० क्यूवी बढी फिट चिरान काठ बरामद गरिएको छ ।
दमक –३ स्थित ढुकुरपानीबाट दमकतर्फ साइकलमा लोड गरेर ल्याउदै गरेको अन्दाजी ३० क्युबी सखुवाको चिरान काठ मंगलवार बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद काठ इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ भने काठ ल्याउने मानिसहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरि प्रहरीले दमक –७ हाटखोला स्थित रतुवा खोलाको काँस घारीमा लुकाएर राखेको अवस्थामा १०३.२७ क्युबी काठ बरामद गरेको छ । बरामद काठ इलाका बन कार्यालय सुरुङ्गामा बुझाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बरामद गरिएको काठ इलामको चुरे क्षेत्रबाट तस्करहरुले ल्याउदै गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

























































