आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य निर्वाचनका लागि गत बिहीबार मनोनयनपत्र दर्ता भइसकेको छ । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र २ सय ५६ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दर्ता भएको हो ।
पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका प्रत्यक्षतर्फका कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभा ३ सय ३० सिट मध्ये ७४ सिटमा यसअघि नै मनोनयन भइसकेको छ ।दलहरूले समानुपातिक तर्फका उम्मेदवाको सूची पेस गरिसकेका छन् र बन्दसूची पनि सार्वजनिक भइसकेको छ ।
नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र ऐतिहासिक संविधानसभाबाट बनेको नेपालको संविधान सफल कार्यान्वयन गर्ने क्रममा आगामी १० र २१ मंसिरमा निर्वाचन हुँदै छ । नयाँ संरचना अनुसार स्थानीय तहको निर्वाचन भइसकेको छ । नयाँ संरचना अनुसारको प्रतिनिधिसभा र प्रदेशसभा गठन भइसकेपछि संघीय प्रणाली संस्थागत हुने भएकोले पनि यो निर्वाचन महत्वपूर्ण छ ।
करिव एकदशक लामो सशस्त्र द्वन्द्व र त्यसपछिको झन्डै डेढदशकको राजनीतिक अस्थिरता र संक्रमणकालको अन्त्य पनि यो निर्वाचन सम्पन्न भएसँगै हुँदै छ । वर्षौंदेखि पिछडिएका क्षेत्र, जातजाति र वर्गका मानिसले यसलाई ठूलो आशाका रूपमा लिएका छन् । स्थानीय तहमा महिला, विभिन्न जातजाति र वर्गका नागरिकको प्रतिनिधित्व भएको छ । राज्यले अवलम्बन गरेको समावेशी सिद्धान्तका आधारमा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व हुने व्यवस्था छ ।
कम्तिमा ३३ प्रतिशत महिला र विभिन्न जातजातिको उचित प्रतिनिधित्व प्रतिनिधिसभा र प्रदेशसभामा हुन जरुरी छ । संवैधानिक व्यवस्था अनुसार नै दलहरूले उम्मेदवार छनोट गरेका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि बाँकी अन्य काम पनि अगाडि बढ्नेछन् । अहिले मुलुक निर्वाचनको व्यापक प्रचारप्रसारमा जुटीरहेको छ । अब निर्वाचनलाई कसरी मर्यादित, भयमुक्त र निष्पक्ष बनाउने भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ । पहिलो चरणको निर्वाचन हुन अब ३ साता पनि बाँकी छैन । विभिन्न राजनीतिक दलहरूका उम्मेदवारहरू जनताको घरदैलोमा चुनावी प्रचारका लागि पुगिसकेका छन् ।
अब सबै उम्मेदवार र राजनीतिक दललाई जनतासमक्ष आफ्ना कुरा राख्ने अवसर दिनुपर्छ र बढीभन्दा बढी मतदातालाई मतदान गर्न प्रेरित गर्ने लोभलालच र भयमुक्त अवस्थामा मतदानको वातावरण मिलाउने, मतदान शिक्षा प्रदान गर्ने अभियानमा राजनीतिक दल र तीनका उम्मेदवार, कार्यकर्ता तथा नागरिक समाज पनि लाग्नु पर्छ । मतदाताले आफ्नो विवेक प्रयोग गरेर जनप्रतिनिधि चुन्ने बेला आएको छ । यो अवस्थाबाट कुनै पनि मतदाताहरू वञ्चित हुनु हँुदैन । सबै मतदाताहरू सचेत बनेर मतदान गर्नुपर्छ ।
यसबाट मात्रै मुलुकमा लोकतन्त्र संस्थागत हुन्छ र मुलुकले आर्थिक समृद्धिको बाटो समात्छ । वाम गठबन्धनले मुलुकमा कम्युनिस्ट अधिनायकवादको खतरा बढेर गएको छ । पछिल्लो समयमा एमाले र माओवादी केन्द्रले गरेको वाम गठबन्धन देशमा अधिनायकवाद लादने ठूलो षड्यन्त्र हो । यसमा लोकतन्त्रवादी सबैशक्ति सचेत बन्न जरुरी छ । लोकतान्त्रिक शक्ति वास्तवमा एक भएर अगाडि नबढ्ने हो भने मुलुकमा ठूलो संकट आउन सक्ने सम्भावना देखिएको छ ।
वाम गठबन्धनको जगमा उभिएर पार्टी एकीकरणसम्मको यात्रा पूरा गरी यो देशलाई भविष्यमा क्युबा, उत्तर कोरिया, चीनजस्तो एकदलीय कम्युनिस्ट अधिनायकवाद लादने कोशिस भइरहेको छ ।एमाले माओवादी केन्द्र र अन्य साना वामदलहरू मिलेर मुलुकमा क्युबा, उत्तरकोरिया या चीनजस्तो अधिनायकवादी शासन प्रणाली भित्रिने खतरा बढेको हुनाले त्यसलाई रोक्न, छेक्न लोकतान्त्रिक गठबन्धनको आवश्यकता छ । लोकतन्त्रवादी शक्तिहरू एकै ठाउँमा उभिएर तीनका विरुद्ध लड्नुपर्ने आवश्यकता देखिएको छ ।
देशमा कम्युनिस्ट व्यवस्था लागू भयो भने जनताको नैसर्गिक अधिकार बाँकी नरहने भएकोले त्यसको रक्षा गर्न लोकतान्त्रिक गठबन्धन आवश्यकता प¥यो ।नेपालमा बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बुहजातीय, प्राकृतिक सम्पदा, हावापानीको विविधता छ । यो विविधतामा राजनीतिक पार्टीहरू पनि विविध विचार र संस्कृतिका आधारमा उभिन्छन् । कुनै एकदलीय निरंकुशता नेपालमा सफल हुन सक्दैन । यो कुरा राजा ज्ञानेन्द्रको असफल प्रयासबाट प्रमाणित भइसकेको छ ।
कम्युनिस्टहरूले एकदलीय शासन व्यवस्था लाद्न धेरै षड्यन्त्र गरिरहेका छन् । यो मुलुकको लागि हितको कुरा होइन । कांग्रेस मुलुकको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी हो, अब कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेर अधिनायकवादका विरुद्ध संघर्ष गर्नुपर्छ । अहिले जनता लोकतन्त्रको पक्षमा छन् । राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि नेपालका सबै राष्ट्रवादी, देशभक्त, लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आजको आवश्यकता अपरिहार्यता छ । अहिलेको आवश्यकता मधेस, हिमाल र पहाडलाई सम्मान गर्नु हो ।
समग्रमा भन्दा सबै नेपालीले सबैको सहअस्तित्वलाई सम्मान गर्दै नेपाललाई एकताको सूत्रमा बाँध्नु हो । मुलुकलाई खण्डित हुन नदिनु अहिलेको राष्ट्रिय एकताको सबैभन्दा ठूलो आवश्यकता हो । माक्र्सवादको अन्तिम लक्ष्य राज्यविहीन समाजको स्थापना गर्ने हो । वर्गविहीन समाजको स्थापना गर्ने हो, नेपालका कम्युनिस्टहरू अहिले त्यही दिशामा अघि बढी रहेका छन् । कुनै माक्र्सवादी र कम्युनिस्ट राष्ट्रवादी हुन सक्दैनन् । त्यसैले कम्युनिस्टहरू मुलुकमा एकदलीय शासन चलाउन ठूलो षड्यन्त्र गर्दैछन् ।
यसले राष्ट्रियतालाई बलियो होइन, कमजोर बनाउँछ । राष्ट्रियता बलियो बनाउन लोकतन्त्रको रक्षा गर्न, शान्ति स्थापना र मुलुकको भाग्य र भविष्य निर्माण गर्न लोकतान्त्रिक शक्तिको अपरिहार्य छ । त्यसैले अब लोकतान्त्रिक शक्तिलाई चुनावमा जिताउनुपर्ने आवश्यकता टड्कारो रूपमा उठिरहेको छ । निर्वाचन सफलताका केही अनिवार्य सर्त छन् । यसलाई स्वतन्त्र र निष्पक्ष बनाउन सरकार, राजनीतिक दल, आममतदाता, निर्वाचन आयोग, सञ्चार माध्यम सबैको उत्तिकै जिम्मेवारी छ ।
आवधिक निर्वाचन लोकतन्त्रको एउटा बलियो आधार हो । त्यसकारण जतिदल, सरकार वा निर्वाचन अयोगको भूमिका हुन्छ, त्यो भन्दा महत्वपूर्ण भूमिका आममतदाताको हुन्छ । किनभने, सही र योग्य उम्मेदवारको छनोट हुन सक्यो भने मात्रै चुनाव सफल भएको मान्नुपर्छ । लामो संक्रमण र राजनीतिक अस्थिरता भागेको नेपाली जनाताले यावत् विसंगतिबाट पार पाउने एउटा मुख्य उपाय स्थिर सरकार हुन् । स्थिर सरकार निर्माण गर्नसके मात्रै नयाँ राजनीतिक प्रणालीको स्थायित्वसँगै विकास र समृद्धिको नयाँ यात्रा प्रारम्भ हुनेछ ।
त्यसकारण उम्मेदवार मध्ये योग्य र विकासप्रेमी उम्मेदवार छनोट गर्न पनि आवश्यकता छ । असल र योग्य प्रतिनिधि चुन्न सकिए मात्र चुनाव साँच्चिकै सार्थक हुनेछ । लोकतन्त्रवादी शक्तिलाई जिताउन पनि सबै लोकतन्त्रवादी मतदाताहरू सचेत बन्नुपर्छ । आगामी १० र २१ मंसिरमा हुने केन्द्रीयसभा र प्रदेशसभाको चुनावबाट विगत १५ वर्षदेखिको राजनीति संक्रमणकाल समाप्त भएर मुलुक शान्ति र समृद्धिको युग सुरु हुने अपेक्षासाथ नेपाली जनताका निम्ति यसले विशेष महत्व राखेको छ । कम्युनिस्टहरूले लोकतन्त्रवादी तथा प्रजातन्त्रवादीविरुद्ध मोर्चा बनाएर चुनावी मैदानमा उत्रेका छन् ।
एमाले र माओवादीबीच चुनावी एकीकरण गर्ने र दुईतिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्ने घोषणा साथ चुनावी मैदानमा उत्रेका छन् । उनीहरूले दाबी गरेजस्तै दुईतिहाइ बहुमत ल्याए भने नेपालको बहुदलीय प्रजातन्त्र कम्तिमा दुई दशक पछाडि धकेलिनेछ । लोकतन्त्र र प्रजातन्त्र बचाउन पनि लोकतन्त्रवादी सबै शक्ति गम्भीर भएर चुनावी मैदानमा उत्रनुपर्छ । कांग्रेस अब आफ्नो सिद्धान्तको आधारमा अघि बढ्नुपर्छ । कुनै पनि तानाशाहहरू लामो समयसम्म टिक्न नसकेको इतिहास हाम्रो सामु छ । नेपालमा पनि तानाशाही कम्युनिस्ट व्यवस्था लामो समयसम्म टिक्न सक्ने छैन । सौर्यबाट